Saturday, January 4, 2014

दुईदिनदेखि विद्युत अवरुद्ध हुँदा अन्धकार

दुईदिनदेखि विद्युत अवरुद्ध हुँदा अन्धकार
सर्लाही समाचारदाता
लालबन्दी, पुस २० । दुईदिनदेखि विद्युत सुचारु नहुँदा जिल्लाका आमसर्वसाधारण अत्यन्त मारमा परेका छन् ।
शुक्रबार विहानदेखि अवरुद्ध विद्युत शनिबार दिनभरपनि आएन । राती साँढे १० बजेबाटमात्र विद्युत सुचारु भएको छ । त्यो पनि कति टिक्ने हो भन्ने ठेगान छैन । राष्ट्रव्यापी रुपमा दैनिक ९ घण्टा विद्युत कटौतीको तालिका भएपनि सर्लाहीमा भने दैनिक ९ घण्टा पनि विद्युत नआउने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । निजी विद्यालय तथा अन्य विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको नजिकिदो परिक्षाका लागि अध्ययनमा समेत नियमित विद्युत सुचारु नहुँदा असरपुगेको विद्यार्थीहरुले गुनासो गरेका छन् । अधिकांश समय विद्युत नुहँदा साइबर सञ्चालक, उद्योग कलकारखाना, स्थानीय संचारमाध्यम तथा राष्ट्रिय संचारमाध्यममा कार्यरत संचारकर्मीहरु प्रभावित बनेका छन् ।
चन्द्रनिगाहपुर–वागमति खण्डमा फल्ट भएका कारण शुक्रबारदेखि विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण सर्लाहीले जनाएको छ । विद्युत किन नआएको भन्ने प्रश्न राख्यो भने कहिले फल्ट भएको त कहिले जम्पर विग्रेको अनि कहिले फिडरमा समस्या आएको लगायत विभिन्न बहाना देखाएर प्राधिकरणका कर्मचारी उम्कने गर्दछन् । हाल राष्ट्रव्यापी रुपमा दैनिक ९ घण्टा लोडसेडिङ हुँदा त सर्लाहीको विद्युतमा यस्तो अवस्था छ भने आईतबारदेखि दैनिक १२ घण्टा भएपछि सर्लाहीको विद्युत कति डामाडोल होला ?

No comments:

Post a Comment