पाँचजना छोरी आमाको किरियामा बसे
जनार्दन पोखरेल
महोत्तरी, माघ ०२ । हिन्दु धर्म संस्कार अनुसार आफ्ना बाबु आमाको मृत्यु पछि छोराले अनिवार्य रुपमा काज किरिया गर्नु पर्ने हुन्छ । छोरा नहुनेको भाई भतिजाले काज किरियाको काम गर्छन् भने भाइ भतिजा पनि नहुनेको काज किरिया गर्न नजिकका कुनै पुरुष अघि सर्छन् । आफ्नै छोरीलाई भने बाबु आमाको काज किरिया गर्ने छुट हिन्दु धर्म संस्कारले दिएको छैन । तर महोत्तरीको गौरीवासमा भने आफ्नी आमाको मृत्युपछि छोरीहरुले नै काज किरियाको काम गरेर समाजमा नयाँ थालनी गरेका छन् ।
गौरीवास २, गौरीडाँडा निबासी चण्डीमाया आलेको गएको पुस २४ गते ७५ बर्षको उमेरमा निधन भएपछि उहाँका पाँच छोरी काममा बसेका हुन् । चण्डीमायाका सात बैनी छोरी भएपनि दुई वटी छोरी बाहिर भएकाले अहिले पाँच छोरी छोरा जसरी नै आमाको काममा बसिरहनु भएको छ । छोरीहरु पबिमाया क्याप्छाकी, ओममाया सुस्लिङ, मनु रखाल, प्रमिला राना र कान्छिमाया राना छोरा जसरी नै आमाको काज किरियामा बसेका हुन ।
आमा बाबुको मृत्यु हुँदा छोरीले सेतो कपडा पहिरिनु नपर्ने भएकाले उहाँहरुको पहिरन भने सामान्य नै छ । आफूलाई जन्म दिने आमाको किरिया छोराले मात्र नभएर छोरीले पनि गर्नु हुन्छ भनेर आफूहरु आमाको काममा बसेको जेठी छोरी पबिमायाँ क्याप्छाकीले बताइन । समाजका कतिपयले छोरा नभए नजिकको कसैलाई पारिश्रमिक दिएर भएपनि कोरामा राख्नु पर्छ भनेका तर आफूहरुले त्यसलाई नमानेको उनको भनाई छ ।
गाउँकै पुरेत झलकमान दहालले छोरा नहुनेका छोरीले पनि आफ्ना आमा बाबुको काज किरिया गर्दा हुन्छ भनेर उनिहरुलाई हिन्दु धर्म अनुसार मृत्यु संस्कारको कर्म गराई रहनु भएको छ । महिला सञ्जाल गौरीवासकी अध्यक्ष रमा बिष्टले चण्डीमायाका छोरीहरुको कदमले समाजमा बिद्यमान छोराछोरीबीचको लैंगिक विभेद हटाउन सहयोग पुग्ने बताइन ।
No comments:
Post a Comment