एमाओवादीको नाक राख्ने सभासद् श्रेष्ठ
–जनार्दन पोखरेल÷सर्लाही दैनिक
हरिवन, माघ २२ । संविधान सभाको दोश्रो निर्वाचनमा एकीकृत माओवादीका २६ जनाले मात्र प्रत्यक्ष तर्फ चुनाब जिते । दुई तिहाई सिटमा बिजय हात पार्ने सपना देखेको एमाओवादी नेतृत्वले चुनाबको मुखमा अन्य दल त्यागेर आफ्नो पार्टीमा प्रबेश गर्ने धेरैलाई टिकट दियो । तर सर्लाही १ बाट शम्भुलाल श्रेष्ठ बाहेक नब पवेशी कसैले पनि चुनाबमा आफ्नो र पार्टीको नाक जोगाउन सकेनन् । पार्टी नेतृत्वले टिकट नदिएको झोंकमा चुनाबको मुखैमा नेपाली कांग्रेसको २५ बर्षे राजनीतिक जीवन परित्याग गरी एकीकृत माओवादीमा प्रबेश गरेर चुनाब जितेको कारणले मात्र होइन, एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेको कारणले पनि यतिबेला सभासद शम्भुलाल श्रेष्ठ चर्चामा छन् ।
‘‘जिल्ला र क्षेत्रले सँधै मलाई टिकटको लागि पहिलो नम्बरमा सिफारिस गथ्र्यो, तर पार्टी नेतृत्वले भने सँधै धोका दिएपछि सहन सकिन ।’’ गएको चुनाबमा नेपाली कांग्रेसले दिएको टिकट पनि फिर्ता गरेको झोकमा एकीकृत माओवादीमा प्रबेश गरेका श्रेष्ठले भने–‘‘टिकट पाईस् भनेर मलाई रामचन्द्र पौडेल, बिमलेन्द्र निधि र सभापति सुशिल कोइरालाका पिएले पनि बधाई दिईसकेका थिए । तर रातारात मेरो टिकट फिर्ता गरेर, सुशिला कार्कीलाई टिकट दिईयो । त्यसपछि म सिधै एकीकृत माओवादीका नेतालाई भेट्न गएँ ।’’ अध्यक्ष प्रचण्ड, नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतलाई भेटर ‘आफूलाई टिकट दिने हो भने पार्टी प्रबेश गर्ने र चुनाब जितेर देखाउने’ बिश्वास दिलाएपछि आफूलाई एमाओवादी नेतृत्वले टिकट दिएको र सभासद बन्न पाएको श्रेष्ठले बताए ।
बि.सं. २०१८ सालमा सर्लाहीको पत्थरकोटमा जन्मिएका श्रेष्ठ नेपाली कांगे्रसको तर्फबाट २०४९ र ०५४ सालमा पत्थरकोट गाविसको अध्यक्षमा पनि निर्बाचित भएका थिए । २०४८ सालमा भएको नेपाली कांग्रेसको महाधिबेशनदेखि लगातार पार्टीको महासमिति सदस्य रहँदै आएका श्रेष्ठले सर्लाहीमा कांग्रेसको जिल्ला सचिबको भूमिका पनि निर्वाह गरिसकेका छन् । स्थानिय स्तरमा लोकप्रिय भएकै कारण ०५६, ०६४ र ०७० सालको चुनाबमा जिल्ला पार्टीले श्रेष्ठलाई टिकटको लागि केन्द्रमा सिफारिस ग¥यो । तर पार्टीको निर्णय गर्ने तहमा रहेका नेताहरुले उनलाई कहिल्यै टिकट दिएनन् ।
जनयुद्ध कालमा श्रेष्ठलाई तत्कालिन माओवादीकोे स्थानिय कमिटीले ‘एक नम्बरको दुस्मन’ को सूचिमा राखेको थियो । ‘‘सर्लाहीमा माओवादीले पहिलो जनकार्वाही नै म माथि गरेको थियो । त्यतिबेला हाम्रो घरमा लाईसेन्सबाला बन्दुक थियो, त्यो उनीहरुले खोसेर पनि लगे । त्यसपछि माओवादीसँग जनयुद्धकालभरी मेरो राम्रो सम्बन्ध भएन ।’’ श्रेष्ठले भने । तर माओवादी शान्ति प्रक्रियामा आएपछि अबस्था फेरिएको उनको बुझाई छ–‘‘अहिलेको राजनीतिक परिवर्तनको मुख्य हिस्सेदार एकीकृत माओवादी हो, माओवादीले जनयुद्ध नगरेको भए मुलुकमा गणतन्त्र स्थापना हुँदैनथ्यो । सबै जातजाति, भाषाभाषी र धर्मका नागरिकले समान अधिकारी पाउँदैनथें ।’’
लामो समय नेपाली कांग्रेसको राजनीति गरेका श्रेष्ठलाई अहिले भने एकीकृत माओवादीको नीति, सिद्धान्त मन पर्न थालेको छ । गत बर्ष हेटौंडामा भएको एकीकृत माओवादीको सातौं राष्ट्रिय महाधिवेशनले लिएको नीति ठिक भएको उनले बताए । पहिलो संविधान सभाको निर्वाचनले मुलुकको सबै भन्दा ठूलो दल बनेको एमाओवादी दोश्रो निर्बाचनपछि तेश्रो स्थानमा झरे पनि उनलाई कुनै चिन्ता छैन । ‘‘हामीले राम्रो काम गरेर जनताको मन जित्न सक्यौं भने अर्को निर्वाचनबाट हामी नै पहिलो शक्ति बन्न सक्छौं । जनता कसैका स्थायी हुँदैनन् । म त निरास छैन, काम गरेर देखाउँछु ।’’ उनको प्रतिबद्धता थियो ।
No comments:
Post a Comment