‘अख्तियारको छाविन स्वागतयोग्य छ’
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ २२ । जिल्ला स्थित विभिन्न शिक्षक संघ संगठनका नेताहरुले अनियमित विद्यालयबारेमा छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सर्लाही आउनु स्वागत योग्य भएको बताएका छन् । सर्लाही दैनिकसँग कुरा गर्दै शिक्षक नेताहरुले अख्तियारको छानवीनका क्रममा दोषिले उन्मुक्ति पाउन नहुने र निर्दोष फस्न नहुने समेत बताए । ‘‘निश्पक्ष ढंगले छानवीन हुनुपर्छ ।’’ शिक्षक नेताहरुको भनाई थियो–‘‘कसैलाई काखा र कसैलाई पाखा गरिनु हुदैन ।’’ कतिपय शिक्षक नेताले भने शिक्षा कार्यालयका जिम्मेवार अधिकारीहरुकै कमजोरीका कारण जिल्लाको विद्यालयहरुमा यस्तो अवस्था आएको दावी गरे ।
नेपाल शिक्षक युनियन सर्लाहीका अध्यक्ष नवलकिशोर रायले आफूले २०६५ सालदेखि नै अनियमित विद्यालयबारे छानवीन गर्न र दोषि देखिएकाहरुमाथि कार्वाही गर्न माग गरेको बताए । ‘‘मैले त ०६५ सालदेखि नै छानवीन गर्न शिक्षा कार्यालयसँग माग गरेको थिएँ ।’’ उनले भने–‘‘तर कुनै शिक्षा अधिकारीले आँट गर्नुभएन र आज अख्तियारको टोली आएको छ ।’’ विगतका शिक्षा अधिकारीकै कमजोरीका कारण अनियमित ढंगका विद्यालयहरु दर्ता भएका र निरन्तर रुपमा तिनले अनुदान समेत पाईरहेको उनले दावी गरे । सञ्चालनमै नरहेका कतिपय विद्यालयबाट आउने भयावह तथ्यांकका कारण पूराना विद्यालयले समेत शिक्षा कार्यालयबाट सेवा सुविधा नपाएको उल्लेख गर्दै युनियन अध्यक्ष रायले छानवीनका क्रममा दोषि देखिएकालाई कार्वाही र निर्दोषले उन्मुक्ति पाउनुपर्ने बताए । नयाँ अनुमति पाई अख्तियारको छानवीनको दायरामा परेका कतिपय विद्यालयहरु भने रामै्रसँग सञ्चालनरत रहेको समेत रायले दावी गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष कौशलकिशोर यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानवीन प्रकृया स्वागतयोग्य रहेको बताए । अनुमति लिएर सञ्चानलनमै नरही शिक्षा कार्यालय लगायत राज्यका विभिन्न निकायबाट अनुदान हाँसिल गर्ने विद्यालयका कारण पूराना विद्यालयहरुमा समेत मार परिरहेको उल्लेख गर्दै गलत गर्नेहरुमाथि कडा कार्वाही हुनुपर्ने संघका अध्यक्ष रायले माग गरे । ‘‘अख्तियारले पत्र काटेर बोलाएका कतिपय विद्यालयहरु राम्रा पनि छन् ।’’ उनले भने–‘‘त्यसैले निश्पक्ष छानवीन भई दोषि उम्कनु हुदैन र निर्दोष फस्नु पनि हुँदैन ।’’ आफूले पहिलादेखि नै गलत गर्ने विद्यालयहरुमाथि कार्वाही हुनपर्ने माग गर्दै आएको समेत संघका अध्यक्ष रायले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्रप्रसाद यादवपनि अनुमति लिएर अनियमित गरिरहेका विद्यालयहरुबारे छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आउनु स्वागतयोग्य रहेको बताउँछन् । ‘‘हाम्रो संगठनले पहिलादेखि नै अनियमित विद्यालयबारे छानवीनको माग गर्दै आएको थियो ।’’ उनले भने–‘‘ढिला भएपनि छानवीन सुरु भएको छ, जुन स्वागतयोग्य छ र निश्पक्ष ढंगले हुनुपर्छ ।’’
लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष जयरुद्र मिश्रले अख्तियारको छानवीन स्वागतयोग्य रहेको बताए । ‘‘भोले विद्यालयको जिल्ला भनेर सर्लाहीको बदनाम भईरहेको छ ।’’ उनले भने–‘‘त्यसैले गलत गर्नेहरुमाथि कडा कार्वाही हुनुपर्छ ।’’ झोलामा सञ्चालन भईरहेका विद्यालयका कारण पूराना विद्यालयलाई मार परिरहेको उल्लेख गर्दै युनियन अध्यक्ष मिश्रले दोषिहरुलाई कुनैपनि हालतमा कार्वाही हुनपर्ने बताए । मिश्रले भने–‘‘गलत विद्यालयका कारण पूराना विद्यालयले सेवा सुविधाबाट वञ्चित हुनुपरिरहेको छ ।’’
मधेशी शिक्षक फोरमका अध्यक्ष रामबाबु यादवले अख्तियारको छानवीन सकारात्मक भएको बताए । ‘‘अख्तियारको छानवीन सकारात्मक छ ।’’ उनले भने–‘‘दोषि उम्कनु हुदैन र निर्दोष फस्नु हुदैन ।’’ नयाँमामात्र हैन पूराना विद्यालयहरुमा समेत व्यापक अनियमितता भईरहको दावी गर्दै यादवले अनियमित हुने सबै विद्यालय छानवीनको दायरामा आउनुपर्ने माग गरे । ‘‘पूराना विद्यालयमा समेत वर्षौंदेखि छात्रवृत्ति वितरण भईरहेको छैन ।’’ उनले भने–‘‘अनियमित गर्ने सबै विद्यालयमा छानवीन हुनुपर्छ ।’’
नेपाल शिक्षक मंचका अध्यक्ष श्यामबाबु सिंहले भ्रष्टाचारको मुख्य ‘अखडा’ जिल्ला शिक्षा कार्यालय भएकाले त्यहिबाट नै छानवीन सुरु हुनुपर्ने माग गरे । ‘‘गलत तरिकाले विद्यालय अनुमति दिने काम शिक्षा कार्यालयले नै गरेको हो ।’’ उनले भने–‘‘त्यसैले अनुमति पाउने विद्यालयमा नभई अनुमति दिने शिक्षा कार्यालयका जिम्मेवार अधिकारीमाथि नै पहिला छानवीन हुनुपर्छ ।’’ यसबारेमा धारणा बुझ्न फोन गर्दा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मीनारायण चौधरीको मोबाईल स्वीच अफ रहेको तथा नेपाल लोकतान्त्रिक शिक्षक फेड्रेशनका अध्यक्ष लालबाबु यादवको फोन उठेन । अन्य शिक्षक संघ संगठनका अध्यक्षहरुलाई सम्पर्कको प्रयास गर्दा हुन सकेन ।
जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमै नरहेका ‘झोले’ एवं अनियमित आशंका गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयदेखि छानवीन गरिरहेको छ । अख्तियारको एक टोलीले गत आइतबारदेखि त्यस्ता विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग सदरमुकाम मलंगवामा बयान लिईरहेको छ ।
No comments:
Post a Comment