हत्याका आरोपी धरौटीमा छुटे
सर्लाही समाचारदाता
मलंगवा, माघ २३ । वृद्धाको हत्याको आरोपमा पक्राउ परेका दुईजना अभियुक्तलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधिश शंकरराज बरालको विहिबारको इजलासले प्रमाण नपुगेको भन्दै हत्या आरोपमा प्रहरीले मुद्धा पेश गरेका दुई अभियुक्तलाई साधारण तारेखमा राखेको हो । गम्हरिया गाविस–५ का ३५ वर्षिय फेकन अन्सारी र ३८ वर्षिय इजरायल अन्सारीलाई स्थानीय ५० वर्षिया नाजमुन खातुनलाई गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई कर्तव्य ज्यान मुद्धा अन्तर्गत जिल्ला अदालतमा बुधबार पेश गरेको थियो ।
गत कात्तिक २० गते विहान ५ बजे शौच गर्न जाँदा नाजमुनलाई गोली हानी हत्या गरेको आरोपमा अन्सारीद्वयलाई गत माघ २ गते विहिबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीबाट विना प्रमाण मुद्धा पेश भएकाले अभियुक्तहरुलाई साधारण तारेखमा राखिएको जिल्ला अदालत स्रोतले बतायो । ‘‘मुद्धामा यथेष्ट प्रमाण नै देखिएन ।’’ अदालतका एक कर्मचारीले भने–‘‘त्यसैले श्रीमान (न्यायाधिश) बाट साधारण तारेखमा राख्नुको विकल्प थिएन ।’’ अब अदालतले नै जाहेरवाला, पोष्टमार्टम गर्ने चिकित्सकहरुसँग बयान लिने लगायतका कामहरु अगाडी बढाउने ती कर्मचारीले बताए ।
हत्यामा उनीहरुको संलग्नता रहेको कुनै पनि प्रमाण फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । अभियुक्तद्वयलाई उन्मुक्ति दिलाउनका लागि ठूलै शक्तिकेन्द्र लागि परेको पीडितपक्षले गुनासो गर्दै आएको थियो ।
No comments:
Post a Comment