बलात्कार आरोपमा म्याद थप
सर्लाही समाचारदादा
नारायणखोला, माघ २४ । दुईदिन अघि पक्राउ परेका नारायणखोला गाविसका एक युवकमाथि इलाका प्रहरी कार्यालयले जबर्जस्ती करणी अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाएको छ ।
शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी नारायणखोला गाविस–७ का २३ वर्षिय लुगु ब्लोनलाई जबर्जस्ती करणी अन्तर्गत कार्वाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । पथ्थरकोटकी एक युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै प्रहरीले ब्लोनलाई गत बुधबार नै नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय हरिपुरमा पीडित युवतीले किटानी जाहेरी दिएपछि शुक्रबार जबर्जस्ती करणी अन्तर्गत म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । विहिबार दिनभर युवक र युवतीपक्षबीच छलफल भएपनि कुरा नमिलेपछि प्रहरीले बाध्य भएर शुक्रबार म्याद थप गरेको स्रोतले जनायो । ‘‘भरसक स्थानीय समाज, भद्रभलाद्मीको छलफलबाट जे निचोड आउँछ, त्यसै गर्ने भनेर दुईदिनसम्म बाटो हे¥यौं, तर विहिबार साँझसम्म पनि मिल्ने खालको कुरा आएन ।’’ हरिपुरका एक प्रहरीले भने–‘‘त्यसैले आज म्याद थप गर्नुप¥यो ।’’ पीडित युवतीले जाहेरी पनि शुक्रबार नै दिएकि छिन् । स्थानीय बासिन्दाका अनुसार पथ्थरकोट निवासी युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि गत सोमबार ती युवकले कब्जामा लिई घरमा राखेर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ । बुधबार विहान युवतीका दाजु तथा दिदीहरु खोज्दै जाँदा युवककै घरमा ती युवतीलाई फेला पारेका थिए ।
बुधबार स्थानीय स्तरमा छलफल राखेर समस्या समाधान गर्न खोज्दा युवकपक्ष र पीडित युवतीपक्षबीच झडप हुनखोजेपछि प्रहरीलाई खबर पुगेको र युवक नियन्त्रणमा परेका हुन् । बुधबार मध्यराती पीडित युवती र पीडक युवकको स्वास्थ्य परिक्षण समेत गरि सकिएको छ । युवकले जबर्जस्ती कब्जामा लिएको नभई विवाह गर्ने भनेर नै युवकको घरमा युवती दुईदिनसम्म बसेको र पछि गाउँलेले युवकको खराब बानी लगायतबारेमा सुनाएपछि उनले युवकसँग बस्न नमान्दा जबर्जस्ती करणीको घटनाको रुपमा बाहिर चर्चा आएको एक स्थानीय बासिन्दाले बताए । प्रहरीले पनि युवक र युवतीको बयान तथा स्थानीय बासिन्दाको भनाई अनुसार जबर्जस्ती करणी नै नभएको ठहरका साथ भरसक स्थानीय भद्रभलाद्मीकै छलफलबाट घटना टुंग्याउन खोजेको थियो । शुक्रबार विहान युवकको परिवारले युवतीपक्षलाई ९० हजार नगद दिने तथा अर्को कुनै केटा खोजेर विवाह गराईदिने दुईपक्षबीच सहमति भएपनि प्रहरीले ढिला भएको भन्दै जिल्ला अदालतबाट म्याद थप गरेको थियो ।
No comments:
Post a Comment