‘झोले’मा अख्तियारको बयान जारी
सर्लाही समाचारदाता
मलंगवा, माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवारबाट बरहथवा र भक्तिपुर स्रोत केन्द्र अन्तर्गतका अनियमित आशंकित ‘झोले’ विद्यालयहरुका पदाधिकारीसँग बयान शुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसँग अख्तियारको टोलीले बयान लिने काम जारी राखेको हो । मदनपुर, गौडैता, मलंगवा, गडहीया डुमरीया स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरुका अध्यक्ष र प्रअसँग बयान लिएको अख्तियारले शुक्रबार बरहथवा र भक्तिपुर स्रोत केन्द्र अन्तर्गका विद्यालयहरुको कागजात संकलन एवं बयान लिने काम सुरु गरेको हो ।
चार स्रोत केन्द्र अन्तर्गतका एकसय भन्दा बढि झोले विद्यालयहरु सँग बयान लिईसकेको र एकदर्जन भन्दा बढि विद्यालयका पदाधिकारी बयान दिन नआएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बयानका लागी अख्तियारको टोलीले जिल्लाका ११ वटै स्रोत केन्द्र अन्तर्गतका झोले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई सदरमुकाम मलंगवा बेलाएर बयानलिने कार्य शुरु गरेको हो ।
बरहथवा स्रोत केन्द्र अन्तर्गतका १४ र भक्तिपुर स्रोत केन्द्र अन्तर्गतका ५ विद्यालयसँग बयान लिए पश्चात हरिपुर्वा स्रोतकेन्द्र अन्तर्गतका विद्यालय सँय बयान लिन शुरु गरिने बताईएको छ । यसअघि जिविस सभाहलमा हुँदै आएको अख्तियारको बयानको काम शुक्रबारबाट भने जिल्ला जनस्वास्थ्य कार्यालयमा भईरहेको छ । जिविस सभाहलमा शुक्रबार र शनिबार जिल्ला सरसफाई सम्मेलन हुने भएकाले जिल्ला जनस्वास्थय कार्यालयमा बयानको काम सरेको हो ।
फर्जी कागजात बनाई राज्य कोषको रकम दुरुपयोग गरेको आरोपमा आयोगका सह–सचिव रामकृष्ण सुवेदीको नेतृत्वमा रहेको टोलीले गतआईतवार देखि जिल्लाका झोले विद्यालय सँय बयान लिईरहेको छ । टोलीले २८ गते सम्म छानबिनको दायरामा रहेका एक सय ७५ विद्यालयसँग बयान लिने जनाएको छ ।
No comments:
Post a Comment