Monday, February 10, 2014

सर्लाहीमा १ लाखभन्दा बढी सौचालय बनाईने

सर्लाहीमा १ लाखभन्दा बढी सौचालय बनाईने
सर्लाही समाचारदाता
मलंगवा, माघ २५ । सर्लाहीमा आगामी दुईवर्ष भित्र एकलाख भन्दा बढी शौचालय बनाईने उद्घोष गरिएको छ । शनिबार सम्पन्न दुईदिने प्रथम ‘जिल्ला सरसफाई सम्मेलन’ले जिल्लालाई खुला दिशामुक्त बनाउनका लागि घर–घरमा शौचालय निर्माण अभियान चलाउने र खुला रुपमा दिशा गर्नेलाई कार्वाहीको दायरामा ल्याउने सहित १३ बुँदे घोषणापत्र जारी गरेको छ । “सुन्दर समुन्नत र सफा सर्लाही, पुरा गरौं यो अभियान घरघरमा चर्पी बनाई” भन्ने मूलनाराका साथ वि. सं. २०७२ सालभित्र सर्लाही  जिल्लालाई खुला दिशामुक्त क्षेत्र बनाउने घोषणा भएको छ ।
९९ गाविस कार्यालयका सचिवहरु, मलंगवा नगरपालिकाका पदाधिकारीहरु, सभासद, राजनैतिक दलहरु, सरकारी निकाय, राष्ट्रिय एंव अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरु, विकास साझेदारहरु नागरिक समाज, विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरु, आम सञ्चार माध्यमहरु, उपभोक्ता समिति, वडा नागरिक मंचका प्रतिनिधि, युवा समूह, महिला समूह तथा संजाल, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, बाल क्लव,  लब्ध प्रतिष्ठित व्यक्ति तथा वुद्धिजिविहरु, विभिन्न लक्षित वर्गका प्रतिनिधिहरु, सामाजिक परिचालक, स्वास्थ्यकर्मीहरु, मानव अधिकारवादी लगायत अन्य सम्बद्ध सरोकारवालाहरुले सर्लाही जिल्लालाई तोकिएको अवधि भित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यलाई जिल्लाभर साझा मुद्धा बनाएर सामाजिक आन्दोलनको रुपमा अगाडी बढाउने दृढ संकल्प तथा प्रतिबद्धताका साथ शनिबार १३ बुँदे साझा घोषणा पत्र जारी गरिएको हो । घोषणालाई  जिल्लाको आगामि मार्ग निर्देशनका रुपमा लिई कार्यान्वयन गरिने समेत प्रतिबद्धता जनाईएको जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए ।
जिल्ला सरसफाई सम्मेलन समापनसँगै उक्त घोषणा गरिएको हो । घोषणा कार्यान्यवयनका लागि पछिल्लो समय संकलित तथ्यांक अनुसार सर्लाहीमा शौचालय विहिन रहेका ९८ हजार ७५ घरधुरीमा शौचालय  निर्माण गर्नुपर्ने हुन्छ । जिल्लालाई खुला दिशामुक्त बनाउने अभियान वि.सं. २०७२ सालसम्म जारी रहने हुनाले एकलाख भन्दा बढी घरमा शौचालय निर्माण गर्नुपर्ने देखिएको छ ।
हाल सर्लाहीमा ३४ हजार ५ सय २८ घरधुरीमा मात्र शौचालय रहेको डिभिजन खानेपानी तथा सरसफाई कार्यालय मलंगवाका निमित्त प्रमुख लिलानाथ झाले बताए । खुला दिशामुक्त बनाउनका लागि जिल्लामा शौचालय निर्माणको अभियानसँगै खुला दिशा गर्नेमाथि कार्वाही गर्ने लगायतमा गाउँ–गाउँमा आचारसंहिता बनाउने समेत घोषणापत्रमा उल्लेख छ ।
सम्मेलनको उद्घाटन एवं समापन समारोह स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्व एवं सभासद् शम्भु पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सहसचिव अवध किशोर मिश्र,  प्रमखु जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकास विभाग अन्तर्गत वातावरणीय सरसफाई शाखाका प्रमुख रामचन्द्र साह, सरसफाई विशेषज्ञहरुको समेत सकृय सहभागिता रहेको थियो ।
हाल सर्लाहीमा मोबाईलको पहुँच ६५ हजार ४ सय १४ घरधुरी तथा ३७ हजार ३७ घरधुरीमा टेलिभिजन भएपनि शौचालय रहेको घरधुरी भने साँढे ३४ हजार घरधुरीमात्रै रहेका छन् । उत्तरी क्षेत्रमा आंशिक तथा विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा खुला दिशा गर्ने प्रचलन बढ्दो रहेको डिभिजन खानेपानी तथा सरसफाई कार्यालयले जनाएको छ । राज्यले नै सन् २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाईसकेकाले सोही अनुसार सर्लाहीलाई सन् २०१६ अर्थात वि.सं.२०७२ साल चैत्र मसान्त भित्र खुला दिशामुक्त बनाईने घोषणा गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष रोशन न्यौपानेले जिल्लालाई खुला दिशामुक्त बनाईने घोषणा गर्नु सकारात्मक भएको र प्रभावकारी कार्यान्वयनमा संचार क्षेत्रबाट सकृय सहयोग रहने प्रतिबद्धता जनाए । सम्मेलनमा जिल्लाका सम्पूर्ण क्षेत्र, तह र तप्काका सयौंको उपस्थिती रहेको थियो । सम्मेलनका सहभागिलाई दुईदिनसम्म खानेपानीको व्यवस्था ग्रामीण नारी उत्थान संघ हरिपुरले मिलाईदिएको सो संस्थाका विष्णु चालिसेले बताए ।
दुईदिनसम्मको भेलाको रौनकता हेर्दा सर्लाहीलाई खुला दिशामुक्त बनाउन कुनै गाह्रो छैन जस्तो आभास देखिएपनि घोषणाको कार्यान्वयन प्रभावकारितातर्फ भने निकै चुनौती देखिन्छ । घोषणापत्रमा प्रतिबद्धता जनाएजस्तै सम्मेलनमा सहभागि सबैले सरसफाईको क्षेत्रमा निरन्तर क्रियाशिल भएमात्र जिल्लालाई खुला दिशामुक्त बनाउन सकिने कुरामा दुईमत छैन ।

No comments:

Post a Comment