Monday, February 3, 2014

भौतिक मूल्यांकनमा टोली खटाईयो

भौतिक मूल्यांकनमा टोली खटाईयो
सर्लाही समाचारदाता
मलंगवा, माघ २० । अनियमित देखिएका विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसँग बयान लिने काम सँगसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भौतिक निर्माणको मूल्यांकन गर्न प्राविधिकहरुको टोली समेत खटाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रकाश पोखरेलको नेतृत्वमा इन्जिनियर, ओभरसियर लगायत भौतिक निर्माणको स्थलगत अनुगमन सहित मुल्यांकन प्रतिवेदन तयार पार्न खटिएका हुन् । आईतबार जिल्ला विकास समितिका इन्जिनियर रमेश यादव लगायत प्राविधिकहरुको टोलीले ५ वटा विद्यालयको भौतिक संरचनाको नापजाप लिएको छ ।
सामुदायिक प्रावि गोनोर्वा, सहोडवामा निर्माण भएको शौचालय, सामुदायिक प्रावि भवानीपुरको मर्मत, सामुदायिक प्रावि धनकौल प. मुसहरीटोलाको भवन र शौचालय, सामुदायिक प्रावि महिनाथपुर–५ को शौचालय र भवानीपुर–९ स्थित सामुदायिक प्राविमा निर्माण भएको शौचालयको टोलीले नापजाप लिएको छ । ७ वटा विद्यालयको नापजाप लिने गरी खटिएको भएपनि दुईवटा विद्यालयको भने नभ्याईएको टोलीका एक सदस्यले बताए ।
आयोगले शिक्षा कार्यालय लगायत विभिन्न निकायबाट लिएको अनुदान अनुसार भौतिक निर्माणको काम भएको छ कि छैन र भएका निर्माण कार्यमा अनियमितता भएको छ कि छैनन् भन्ने अनुसन्धानका लागि प्राविधिक कर्मचारीहरुको टोली अनुगमनका लागि खटाएको हो । अनियमित शंकास्पद देखिएका सबै विद्यालयहरुको भौतिक निर्माणको नापजाप गरेर प्राविधिक टोलीबाट मुल्यांकन गराईने अख्तियार स्रोतले बतायो ।

No comments:

Post a Comment