Wednesday, January 15, 2014

संक्रान्तिमा मगर संघको शुभकामना

संक्रान्तिमा मगर संघको शुभकामना


सर्लाही समाचारदाता
हरिवन, माघ ०१ । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सर्लाहीले बुधबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
गाविस सभा हल हरिवनमा भएको कार्यक्रममा क्षेत्र नं. ३ बाट विजयी सभासद् हरि उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । मगर संघका जिल्ला अध्यक्ष लेखराज जर्घामगरको सभापतित्व एवं संघकी केन्द्रीय सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सभासद् उप्रेती, एमाले नेता सुरेन्द्र लामा, नेकपा–माओवादी नेता कुमार पौडेल, थारु कल्याणकारिणी सभा सर्लाहीका अध्यक्ष आशनारायण चौधरी, मगर संघका पूर्व जिल्ला अध्यक्ष चेतबहादुर मगर, सदस्य माधव किङरिङ मगर लगायतले मन्तव्य राखेका थिए । संघका तेजनारायण आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा माघे संक्रान्ति पर्वको महिमा तथा मगर समुदायको बारेमा चर्चा गरिएको थियो । मगर र थारु समुदायले माघे संक्रान्तिलाई महान पर्वको रुपमा मनाउने गर्दछन् ।
त्यसैगरी बुधवार माघे सङ्क्रान्तिको अवसरमा सर्लाही सहित देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरेर पर्व मनाइएको छ ।
त्यस्तै माघे सङ्क्रान्तिको अवशरमा ईश्वरपुर गाविस २ मा रहेको फुलजोर बाबा मन्दिरमा थारु समुदायले कुखुरा, हाँस, परेवा, बोकाको बलि दिएका छन् । बुधवारदेखिनै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सौरमानको गणना बमोजिम माघे सङ्क्रान्तिदेखि ६ महिनासम्म सुूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभकर्महरु पनि यसै बेला गर्ने परम्परा छ । माघे सङ्क्रान्तिको अवसरमा  भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरेका थिए ।  स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने चलन छ ।

No comments:

Post a Comment