आचारसंहिता नियम उल्लंघन सच्चिएन
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ११ । मूलुकको कानून निर्माण गर्न जान लागेका राजनैतिक दल र उम्मेद्वारहरुले सामान्य नियम समेत पालना नगरेको पाइएको छ ।
देश र जनताका अधिकार संस्थागत गर्न संविधान लेखनका लागि संविधान सभाको निर्वाचनमा होमिएका दलहरुले नै निर्वाचन आयोगको आचारसंहित उल्लंघन गरिरहेका छन् ।
मंसिर–४ गते हुने निर्वाचनका लागि एक महिना अघि कात्तिक–४ गते देखिनै उम्मेद्वार र दललाई आचारसंहिता लागु भएको भएपनि सो पालना भने नभएको देखिएको छ । निर्वाचन आचारसंहितामा एक दलले दुईवटा र उम्मेद्वारले दुईवटा सवारी साधन निर्वाचनका लागि प्रयोग गर्न पाउने तर निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृती लिनुपर्ने भएकोमा जिल्लामा सोको कार्यान्वयन हुनसकेको छैन । जिल्लामा ५४ दलका र स्वतन्त्र गरी कुल दुईसय ५५ उम्मेद्वारहरुको मूख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयमा रेकर्ड रहेता पनि सवारी अनुमति लिने संख्या न्यून रहेको छ । नियमानुसार ५४ दलको एकसय आठ र दुईसय ५५ उम्मेद्वारको पाँचसय दश गरी कुल छसय १८ सवारी साधन प्रयोग गर्न सकिने भएको तर आचारसंहिता लागु भएको आठ दिन वितिसक्दा समेत मुस्किलले ७५ वटा सवारी साधनको मात्र अनुमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जनाएको छ । सवारी अनुमति नलिनेमा केही मूख्य दल सहितका केही स्वतन्त्र उम्मेद्वारहरु समेत रहेका कार्यालयले जनाएको छ ।
संविधान सभा निर्वाचनमा सहभागि एक पार्टी श्रोतका अनुसार अधिकांश उम्मेद्वार एवं दलहरुले भारतीय नम्बरका सवारी साधन प्रयोग भएकाले सबैको अनुमति लिन महँगो पर्ने भएका कारण सवारी अनुमति संख्यामा कमि आएको जनाएको छ ।
श्रोत भन्छ –‘भारतीय नम्बरको गाडीलाई अनुमति लिन भंसार काटेर जानुपर्छ र भंसार काट्दा एक÷दुई वटाको मात्र काटेर भंसार नकाटीएका सवारी ग्रामीण क्षेत्रमा संचालन हुन्छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर धानुकले प्रहरीले एक÷दुई दिनपछि निर्वाचनमा खटिएका सवारी साधनको चेकजाँच गरिने र अनुमति प्राप्त नगरेका सवारी साधनलाई कारवाही गरिने बताए ।
आचारसंहिता पूर्ण रुपले पालना गर्न सोमबार राजनैतिक दललाई पत्राचार गरिसकिएको र नियम पालना नगरेको पाइएमा कारवाही गरिने निर्वाचन अनुगमन अधिकृत एवं मलंगवा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए । जिल्ला न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले पहिलाको तुलनामा सवारीको पास लिने क्रम बढेको र त्यसमा मिडियाबाट पनि ठुलो सहयोग मिलेको बताए ।
No comments:
Post a Comment