सर्लाहीमा पनि म्यादीले काम छाड्न थाले
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ५ । सुविधा कम भएको भन्दै सर्लाहीमा खटिएका म्यादी प्रहरीले पनि धमाधम काम छाड्न सुरु गरेका छन् ।
आवेदन लिने बेलामा नेपाल प्रहरीका जवानको २ महिना बराबरको सम्पूर्ण सुविधा उपलब्ध गराउने भनिएपनि हाल डेढ महिनाको मात्र सुविधा दिने भनिएपछि तालिमका लागि आएका म्यादी प्रहरी घर फर्केका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले २–४ जना म्यादीले सुविधा कम भएको भन्दै छाडेको बताए । ‘‘सुविधा कम भएको र अर्को जिल्लामा खटिनुपर्ने भन्दै २–४ जना म्यादीहरु घर फर्केका छन् ।’’ ओलीले भने ।
सर्लाहीमा एकहजार चारसय ६५ जना म्यादी प्रहरी खटाईने भएपनि धनुषाबाट मंगलबार साँझसम्म एकहजार दुईसय ७९ जना जना मात्र आईपुगेका छन् । आएका म्यादी मध्ये इलाका प्रहरी कार्यालय हरिवन, लालबन्दी, केशरगञ्ज, हरिपुर र बरहथवालाई १ सय २५ जनाको दरले पठाईसकिएको र इलाका प्रहरी कार्यालय गडहियामा १ सय ३२ जना पठाईएको प्रहरी निरीक्षक ओलीले बताए । इलाका प्रहरी कार्यालयहरुले म्यादी प्रहरीलाई तालिम दिन सुरु गरिसकेका छन् । म्यादी प्रहरीहरुलाई इलाका प्रहरी कार्यालयले आसपासका विद्यालय लगायत स्थानमा रातीको बास बस्ने व्यवस्था मिलाएका छन् ।
५ सय २० जनालाई भने जिल्ला प्रहरी कार्यालयमै तालिम दिएर राखिएको छ । जसमा ५६ जना महिला रहेका छन् । सर्लाहीमा आवेदन भरेकालाई धनुषा तथा धनुषामा आवेदन दिएकालाई सर्लाहीमा खटाईएको प्रहरीले जनाएको छ । १ हजार ४ सय ६५ जनामा अपुग म्यादीहरु पनि बुधबारसम्ममा आईसक्ने अनुमान जिल्ला प्रहरी कार्यालयले गरेको छ ।
No comments:
Post a Comment