गुरुकुल र मदरसामा पनि गुनासो
सर्लाही समाचारदाता
मलंगवा, पुस १७ । सर्लाहीको शिक्षा क्षेत्रमा ‘झोले’ विद्यालय मात्र हैन बाल विकास केन्द्र, गुरुकुल, मदरसा जस्ता शिक्षालय सञ्चालनमा पनि अनियमितता भईरहेको जानकारहरुले बताउँदै आएका छन् ।
जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका अधिकांश गुरुकुल, मदरसा, बाल विकास केन्द्र, सामुदायिक अध्ययन केन्द्र जस्ता शिक्षालय सञ्चालनमा नरहेपनि राज्यबाट बजेट निकासा भईरहेको जानकारहरु बताउँछन् । हाल जिल्लामा ४ सय २२ वटा वाल विकास केन्द्र, १ सय १० वटा गुरुकुल, ८० वटा मदरसा, १ सय ८ वटा सामुदायिक अध्ययन केन्द्र र ५ वटा गुम्बा सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जसमा आधाभन्दा बढी ०६५ सालयता मात्र दर्ता भएका छन् । सामुदायिक अध्ययन केन्द्र मध्ये ४५ वटा सरकारी अनुदान प्राप्त र बाँकी निजी स्रोतबाट सञ्चालनरत रहेको शिक्षा कार्यालयको तथ्यांकमा छ । त्यस्तै अधिकांश गुरुकुल ०६५ सालयता दर्ता भएका छन् भने ५ वटा गुम्बा दर्ता भएको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विशेषगरी ०६२÷०६३ को मधेश आन्दोलनपछि जिल्लामा ‘झोले’ विद्यालय, गुरुकुल, मदरसा दर्ताको बाढी नै आएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । प्रति गुरुकुल र मदरसालाई वार्षिक २ लाख हाराहारीमा शिक्षा कार्यालयबाट निकासा हुने गरेको एक कर्मचारीले बताए । जिल्लामा कायम रहेका बाल विकास केन्द्र, गुरुकुल, मदरसा, सामुदायिक अध्ययन केन्द्र जस्ता शिक्षालयहरु मध्ये अधिकांश सञ्चालनमा नरहेको र जिल्ला शिक्षा कार्यालयबाट बजेट भने निकासा भईरहेको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment