Wednesday, January 15, 2014

खुला दिसापिसाब मुक्तमा सम्मेलन

खुला दिसापिसाब मुक्तमा सम्मेलन
सर्लाही समाचारदाता
मलंगवा, पुस २९ । सर्लाहीलाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्ने अभियानका लागि आगामी माघ २५ गते जिल्ला सरसफाई सम्मेलन गरिने भएको छ ।
डिभिजन खानेपानी तथा सरसफाई कार्यालय मलंगवामा सोमबार बसेको जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति सर्लाहीको बैठकले सरसफाई सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्लालाई खुला दिसापिसाव मुक्त क्षेत्र घोषणा गर्ने तयारी सिलसिलामा सरसफाई सम्मेलन गर्ने निर्णय गरिएको समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । बैठकमा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख लगायत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
स्थानीय विकास अधिकारी बस्नेतले सम्मेलनमा जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, शिक्षक, सबै गाविस सचिव, संचारकर्मी, गैर सरकारी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहने बताए । ‘‘विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने सम्मेलनमा सरोकारवाला एवं माथिल्लो निकायका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।’’ उनले भने–‘‘सर्लाहीलाई खुला दिसापिसाव मुक्त क्षेत्र घोषणाका लागि उपस्थिती सबै जिल्लाबासी एवं सरोकारवालाहरुबाट प्रतिवद्धता सहितको घोषणापत्र समेत सार्वजनिक हुनेछ ।’’
सर्लाहीलाई आगामी सन् २०१६ सम्मा खुला दिसापिसाव मुक्त क्षेत्र घोषणा गर्ने भनेर लिखित प्रतिबद्धता जनाई सकिएकाले सोही अनुसार काम कार्वाही अगाडी बढाईएको समितिका अध्यक्ष बस्नेतले बताए । सरकारले भने सन् २०१७ सम्ममा मुलुकलाई खुला दिशापिसाव मुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाईसकेको छ ।

No comments:

Post a Comment