Wednesday, January 15, 2014

वनमा काम गर्नेको रासन सदर

वनमा काम गर्नेको रासन सदर
सर्लाही समाचारदाता
नवलपुर, पुस २९ । जिल्ला वन कार्यालय सर्लाहीमा कार्यरत सशस्त्र वन रक्षक एवं प्राविधिक कर्मचारीहरुका लागि रासन भत्ता सदर भएको छ ।
जिल्ला वन कार्यालयले सोमबार सशस्त्र वन रक्षक एवं प्राविधिकतर्फका रेञ्जर, फरेष्टर र वन रक्षकहरुको रासन भत्ता सदर गरेको हो । सशस्त्र वन रक्षकहरुका लागि प्रतिदिन १ सय ५४ रुपैंया तथा प्राविधिक कर्मचारीहरुका लागि प्रतिदिन ९४ रुपैया दरको टेण्डर सदर भएको हो ।
जिल्ला वन कार्यालय, इलाका वन कार्यालय मूर्तिया र इलाका वन कार्यालय फूलजोरमा कार्यरत २४ जना सशस्त्र वन रक्षक एवं ६२ जना प्राविधिक कर्मचारीहरुका लागि गत पुस २१ गते आइतबार टेण्डर दर्ता भएको थियो भने परेका टेण्डरहरु सोही दिन खोलिएको थियो । प्राविधिकतर्फ परेका १३ वटा टेण्डरमध्ये माँ जानकी जेनरल सप्लायर्स जनकपुर तथा सशस्त्र वन रक्षकतर्फ परेका ११ वटा टेण्डरमध्ये राम जेनरल अर्डर सप्लायर्स धनकौल सर्लाहीको दररेट सहितको टेण्डर स्वीकृत भएको हो ।
सशस्त्र वन रक्षकहरुलाई १९ आईटम तथा प्राविधिक कर्मचारीहरुलाई १२ आईटम रहेको र परिमाणमा समेत घटीबढी रहेकाले रासन भत्ताको दरपनि सोही अनुसार घटीबढी भएको जिल्ला वन कार्यालयका लेखापाल पवन पौडेलले बताए । टेण्डर सदर भएका ठेकेदारलाई पत्र प्राप्त भएको सात दिनभित्र सम्झौता गर्नका लागि पत्र समेत पठाईसकिएको लेखापाल पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment