Wednesday, January 15, 2014

बस गुडिरह्यो, यात्रु लुटिइरहे

बस गुडिरह्यो, यात्रु लुटिइरहे
जनार्दन पोखरेल
महोत्तरी, पुस ३० । काठमाण्डौबाट सिन्धुलीतर्फ जाँदै गरेको रात्रीबसका यात्रुहरुमाथि लुटेराहरुको एक समूहले मंगलबार विहान फिल्मी शैलीमा लुटपाट मच्चाएका छन् ।
ना.४ख १५०१ नम्बरको सुपर बासुकी यातायात बसका यात्रुहरुमाथि लुटपाट भएको हो । यात्रुहरुबाट नगद, सुनचाँदीका गहना, एलसीडि, मोवाइल लगायतका सरसामान गरी ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल लुटिएको प्रहरीले जनाएको छ । लुटेराहरुले एक लाख रुपैयाँभन्दा बढी नगद, ८ तोलाभन्दा बढी सुनका गहना, दुई थान एलसीडि, २० थान जति मोवाइल लगायतका सरसामान यात्रुहरुबाट लगेका छन् ।
काठमाडौंबाट सिन्धुली सिर्थौलीका लागि हिडेको बसलाई लुटेराहरुको समूहले सर्लाहीको फूलजोर कट्ने वितिकै जंगल क्षेत्र प्रवेश हुनसाथ आÇनो नियन्त्रणमा लिएको थियो । यात्रु बनेर बसमा यात्रा गरिरहेका ९ जनाको समूहले उक्त बस आÇनो नियन्त्रणमा लिएर यात्रुहरुमाथि लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसका चालक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गर्दै नियन्त्रणमा लिएपछि बस..........
लुटेरा मध्येको एक जनाले बस चलाएको र बाँकी ८ जनाले लुटपाट गरेका थिए । शुरुमा उनीहरुले बस भित्रै गोली फायर गरेर यात्रुहरुलाई आतंकित पारेपछि हतियार देखाउँदै लुटपाट गरेका पीडित यात्रु सिन्धुली लदाभिर–८ घर भएका मिनबहादुर भट्टराईले बताए । लुटेराहरुले बस भित्रका सबै बत्ति फुटाएर आफैंसँग भएको टर्च लाइट बालेर लुटपाट गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको आधा दर्जनभन्दा बढी ईकाईहरु रहेको पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको बस भित्र सर्लाहीको फूलजोर देखि महोत्तरीको बर्दिबास नजिकसम्मको करिब २४ किलोमिटर दुरीमा लुटेराहरुले निर्धक्कसँग ‘फिल्मी शैली’ मा लुटपाट मच्चाएका हुन् ।
लुटेरा सबैले मास्क लगाएका तथा गलबन्दीले मुख र अनुहार छोपेका यात्रु संगिता लामाङले बताइन् । घाँटीमा हतियार तेस्र्याएका कारण लुटेराहरुको प्रतिकार नगरी चुपचाप बस्नु परेको युवा पुरुष यात्रुहरुको भनाई छ । बैदेशिक रोजगारीबाट घर फर्कंदै गरेका पाँच जना युवा पनि लुटिएका छन् । दुबईबाट घर फर्कंदै गरेका सिन्धुलीका मनोज धामीले आफ्नो ३० हजार रुपैयाँ पर्ने एलसिडी र मोवाइल लुटिएको बताए ।
कतिपय यात्रुले भने लुटपाट शुरु भएपछि नगद र बहुमूल्य बस्तु सिटमुनी फ्याँकेका कारण जोगिएको छ । कुटपिटबाट बस चालक श्रेष्ठ र सहचालक गोर्खा घर भएका सुमन गुरुङ घाइते भएका छन् ।
कलंकीबाट यात्रु बनी सिरहाको मिर्चैया जान भनी चढेका ४ जना र हेटौंडाबाट चडेका ५ जना गरी नौ जना लुटेराले बिहान ४ बजे सर्लाहीको फुलजोरबाट पूर्व जंगलमा बस प्रबेश गर्नासाथ लुटपाट शुरु गरेका यात्रुहरुले बताएका छन् । लुटपाटपछि महोत्तरीको बर्दिबास नजिक बिश्वकर्मा चोकमा गाडी रोकेर उनीहरु जंगलतिर भागेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरिक्षक अशोक झाले बताए ।
घटनाको जानकारी पाउनासाथ बिहान साढे ४ बजे घटना स्थलमा पुगेको प्रहरीले शंकाको आधारमा माइस्थानको बरडाँडाबाट ७ जनालाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गरेर उनीहरुलाई साँझ छाडिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास, छिन्नमस्ता शसस्त्र प्रहरी वल माइस्थान र इलाका प्रहरी कार्यालय बयलबास सर्लाहीको प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेका छन् ।
पूर्व पश्चिम राजमार्गको महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा रात्री बसमा पटक–पटक लुटपाट हुँदै आएको छ । बिगतका घटना भन्दा यस पटकको घटना फरक खालको भएकाले जंगल क्षेत्रमा प्रहरी गस्तीमै भएपनि लुटेरा उम्किएका इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरिक्षक यज्ञबहादुर भट्टराईले बताए । काठमाडौंको कलंकीबाट यात्रु बनी सिरहाको मिर्चैया जान भनी चडेका ४ जना र हेटौंडाबाट चडेका ५ जना गरी नौ जनाको समूहले बिहान ४ बजे सर्लाहीको फुलजोर जंगलमा बस प्रबेश गर्नासाथ लुटपाट शुरु गरेका यात्रुहरुले बताएका छन् ।
बसका चालकलाई नियन्त्रणमा लिएर लुटेरा आफैंले गाडी चलाएका कारण शसस्त्र र नेपाल प्रहरीले राजमार्गमा गस्ती गरेपनि उनीहरु उम्कन सकेका प्रहरी निरिक्षक भट्टराईको भनाई छ । सर्लाहीको फुलजोर जंगलदेखि महोत्तरीको बर्दिवास सम्मको करिब २५ किलो मिटर जंगल क्षेत्रमा पटक पटक यात्रु बस लुटिएपछि त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले जंगल क्षेत्रको पाँच ठाउँमा सुरक्षा पोष्ट खडा गरेर रात्री गस्ती गर्दै आएका भए पनि लुटपाट नियन्त्रण हुन सकेको छैन ।

No comments:

Post a Comment