Tuesday, January 14, 2014

छुट्टछुट्टै आगलागीबाट लाखौंको धनमाल क्षति

छुट्टछुट्टै आगलागीबाट लाखौंको धनमाल क्षति
सर्लाही समाचारदाता
बरहथवा, पुस २६ । सर्लाहीका तीन छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको आगलागीबाट लाखौंको धनमाल क्षति भएको छ । पीडितहरुको दावी अनुसार आगलागीबाट २६ लाखभन्दा बढीको क्षति भएको छ भने प्रहरीले त्यति धेरै परिणाममा क्षति नभएको दावी गरेको छ । बरहथवा बजार स्थित एक पुस्तक पसल तथा छटौल र बगदह गाविस स्थित फुस्को घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान पौने दुई बजे वरहथवा गाविस–८ स्थित अमर पुस्तक पसलमा आगलागी हुँदा २५ लाखबराबरको क्षति भएको पीडितले दावी गरेका छन् । आगलागीबाट पसलमा रहेका सम्पूर्ण शैक्षिक र खेलकुदका सामाग्रीका साथै फर्निचरहरु पनि जलेर नष्ट भएको उक्त पसलका सञ्चालक अमरेन्द्र कुमार सिंहले बताए । उनले आगलागीबाट २५ लाख बराबरको क्षति भएको दावी गरे ।
प्रहरीले भने ५ लाख हाराहारीमा क्षति भएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले ५ लाखको क्षति भएको बताए । आगालागी स्थानीय र ईलाका प्रहरी कार्यालय वरहथवाको प्रहरी टोलीले आधा घण्टा पछि नियन्त्रणमा लिएको थियो । विद्युत सर्टबाट आगो लागेको अनुमान गरिएको छ ।
त्यस्तै दक्षिणी क्षेत्र स्थित छटौल गाविसमा शुक्रबार विहान भएको आगलागीमा ७१ हजार बराबरको क्षती भएको छ । स्थानीय तुलसी रायको फुसको एकतले घरमा आगलागी हुँदा घरभित्र राखिएको अन्नपात, लत्ता कपडा लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको छ । आगलागी ईलाका प्रहरी कार्यालय गौडैता र अस्थायी प्रहरी चौकी सिसौटीका प्रहरीले केहि समयपछि नियन्त्रणमा लिएका थिए ।
त्यसैगरी दक्षिणी क्षेत्रमा नै पर्ने बगदह गाविसमा भएको आगलागीबाट ६५ हजार बराबरको क्षती भएको छ । स्थानीय रामविलास साहको खपडाको घरमा आगलागी हुँदा घर भित्र राखिएको सम्पुर्ण माल सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र ईलाका प्रहरी कार्यालय गौडैताका प्रहरीहरुको सकृयतामा आगलागी नियन्त्रणमा आएको थियो ।
जाडोका कारण घुर तापेको आगो ननिभाई त्यसै छाडेका कारण त्यसैबाट साहको घरमा आगो सल्केको बताईएको छ ।  तीनै ठाउँमा भएको आगलागीमा कुनै किसिमको मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिए ।

No comments:

Post a Comment