सर्लाहीमा आठवटा झोलुंगे पुल बन्दै
सर्लाही समाचारदाता
मलंगवा, फागुन २५ । चालु आर्थिक वर्षमा सर्लाहीका विभिन्न स्थानमा ८ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । हाल ८ वटै पुल निर्माणको प्रकृया सुरु भएको जिविसले जनाएको छ । विशेष गरी पहाडी क्षेत्रमा प्रचलित रहेको झोलुंगे पुल तराई क्षेत्रका लागि भने नयाँ प्रयोग हुनेछ । कम बजेटमा निर्माण हुने झोलुंगे पुलमा चार पांग्रे सवारी साधन भने गुडाउन मिल्दैन ।
जिविसका अनुसार जीङ्गड्वा–हरिपूर्वा जोड्नका लागि बाँके खोलामा झोलुंगे पुल निर्माणको प्रकृया सुरु भएको छ । त्यहाँ पुल निर्माणका लागि फाउण्डेशन उठिसकेको र थप निर्माण कार्य भईरहेको सब इन्जिनियर रामलोचन महतोले बताए ।
त्यस्तै नोकेल्वा–धनकौल पूर्व जोड्नका लागि सफा खोलामा झोलुंगे पुल निर्माणका लागि निर्माण प्रकृया अगाडी बढेको छ । त्यहाँ पुल निर्माणका लागि सम्झौता भइसकेको र अन्य थप प्रकृया अगाडी बढेको जिविसले जनाएको छ ।
त्यस्तै लक्ष्मिपुर को. स्थित मजुरवा खोलामा फाउण्डेशन उठाइसकिएको सब इन्जिनियर महतोले बताए । महतोका अनुसार अत्रौलीको मिलनचोकमा पनि फाउण्डेशनका लागि काम भइरहेको छ । त्यस्तै कविलासीको गैरबाट हेमपुर जोड्नका लागि ढंग्राखोलामा झोलुंगे पुलका लागि फाउण्डेशन उठिसकेको छ ।
त्यसैगरि सुन्दरपुर गाविसको नयाँ बजार स्थित ढंग्राखोलामा पनि झोलुंगे पुल निर्माणका लागि प्रकृया अगाडी बढाईएको जिविसले जनाएको छ । त्यस्तै छटौल गाविस र सिसौट गाविस स्थित दुई छुट्टाछुट्टै स्थानमा रहेको मनुष्मारा नदीमा समेत झोलुंगे पुल निर्माणको प्रकृया अगाडी बढेको सब इन्जिनियर महतोले बताए ।
जिविस योजना फाँटका सत्यनारायण कर्णले ८ वटै झोलुंगे पुल निर्माणका लागि प्रकृया अगाडी बढिसकेको र चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सकिने बताएका छन् । स्थानीय गाविस, जिविस र हेल्भेटास (एसडब्लुएपी) को सहयोगमा निर्माण कार्य अगाडी बढाईएको झोलुंगे पुलमा स्थानीय उपभोक्ता समितिको समेत श्रमदान रहने छ ।
No comments:
Post a Comment