Friday, March 14, 2014

सभासद् सिंहद्वारा कार्यालय प्रमुखसँग छलफल

सभासद् सिंहद्वारा कार्यालय प्रमुखसँग छलफल
सर्लाही समाचारदाता
मलंगवा, फागुन २७ । सभासद् डा. अमरेश सिंहले मंगलबार सदरमुकाम मलंगवा स्थित सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल गरेका छन् ।
सरकारी कार्यालयमा बजेट अभाव लगायत विभिन्न समस्याका बारेमा प्रमुखहरुसँग आफूले जानकारी लिएको सभासद् सिंहले बताए । ‘‘मैले सबै सरकारी कार्यालयका प्रमुखहरुसँग आज छलफल गरेँ ।’’ मंगलबार सर्लाही दैनिकको कार्यालयमा आएका डा. सिंहले भने–‘‘कार्यालय प्रमुखहरुले सुनाउनु भएको सबै समस्याहरु टिपेर राखेको छु र काठमाडौं पुगेर सबै मन्त्रालयमा समस्या समाधानका लागि पहल सुरु गर्छु ।’’
सभासद् डा. सिंहले मंगलबार विहान जिल्ला प्रशासन कार्यालयमा भेला राखेर समस्याबारे जानकारी लिएका थिए । जिल्ला स्थित सबै सरकारी कार्यालयमा कम बजेट, दरबन्दी अनुसारको कर्मचारी नहुनु, राजनैतिक दवाव लगायत समस्या जानकारीमा आएको डा. सिंहले जानकारी दिए । ‘‘सरकारी कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पठाउन र बजेट वृद्धि गर्नका लागि पहल सुरु गर्छु ।’’ उनले भने–‘‘अन्य सभासद्हरुसँग पनि जिल्लाको विकास निर्माण सहित विभिन्न कामहरुका लागि केन्द्रमा पहल गर्न समन्वयको प्रयास समेत भईरहेको छ ।’’ भेलामा १७ वटा सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सहभागि रहेका थिए ।
डा. सिंहले विशेषगरि आफूले प्रत्यक्षतर्फ जितेको सर्लाहीको क्षेत्र नं. ६ मा विकास कार्यक्रमका लागि मात्र सय करोडभन्दा बढी बजेट ल्याउने प्रतिबद्धता समेत जनाइसकेका छन् । ४ वर्षभित्र क्षेत्र नं. ६ का लागि थप एकसय करोड विकास बजेट नल्याए राजनीतिबाटै सन्यास लिने समेत उनले सोमबार संचारकर्मीहरुबीच घोषणा गरेका थिए । सोमबार जिल्ला विकास समितिको १९औं जिल्ला परिषदमा सहभागि हुन आएका डा. सिंह मंगलबार अपरान्ह काठमाडौंतर्फ फर्केका छन् ।

No comments:

Post a Comment