Tuesday, March 11, 2014

शिक्षा कार्यालय हेटौंडामा स¥यो !

शिक्षा कार्यालय हेटौंडामा स¥यो !
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, फागुन २५ । जिल्ला शिक्षा अधिकारी सहित जिल्ला शिक्षा कार्यालय सर्लाहीका सबै कर्मचारीहरु हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा छन् । अनुमति लिएपनि सञ्चालनमै नरहेका ‘झोले’ विद्यालय बारे अनुसन्धानरत अख्तियारले शिक्षा अधिकारी सहित जिल्ला शिक्षा कार्यालयका सबै कर्मचारीलाई बयानका लागि बोलाएपछि केही दिनदेखि सदरमुकाम मलंगवा स्थित जिल्ला शिक्षा कार्यालय सुनसान छ ।
जिल्ला स्थित पौने दुईसय अनुमति प्राप्त विद्यालयहरुले सञ्चालन नभएपनि राज्यबाट सेवा सुविधा लिएको भन्ने बारेमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारी सहित जिल्ला शिक्षा कार्यालयका डेढ दर्जनभन्दा बढी कर्मचारीलाई बयानका लागि बोलाएको हो । सोमबार जिल्ला शिक्षा अधिकारीहरुको बयान रहेको शिक्षा कार्यालय स्रोतले बतायो । २०६५ सालयता जिल्ला शिक्षा कार्यालय सर्लाहीमा प्रमुखको जिम्मेवारी सम्हालेका ७ जना जिल्ला शिक्षा सहित कार्यक्रम अधिकृत, शाखा अधिकृत, इन्जिनियर, लेखापाल, स्रोत व्यक्ति, विद्यालय प्रशासनका कर्मचारी र प्राविधिक सहायकहरुलाई अख्तियारको हेटौंडा स्थित क्षेत्रिय कार्यालयले बयानका लागि बोलाएको हो ।
हाल जिल्ला शिक्षा कार्यालयमा श्रेणि विहिन कर्मचारी मात्र रहेको एक कर्मचारीले बताए । जिशिअ सहित सबै कर्मचारी बयानका लागि हेटौंडा गएपछि जिल्ला शिक्षा कार्यालय सर्लाही सरेको जस्तै भान भएको हेटौंडामा रहेका एक कर्मचारीले बताए । ‘‘हामी सबैजना अहिले हेटौंडामै छौं ।’’ जिल्ला शिक्षा कार्यालय सर्लाहीका एक कर्मचारीले भने–‘‘यतैबाट कार्यालय सञ्चालन गरे हुने स्थिती छ ।’’
२०६५ सालदेखि जिल्ला शिक्षा कार्यालय सर्लाहीमा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी सम्हालेका रामविनय सिंह, रामविनोद यादव, हेमन्त सिंह, महेन्द्र महतो, ठूलोबाबु दाहाल, सुकदेव सापकोटा र हालका जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मालाई आगामी फागुन २६ गते सोमबार बयानका लागि अख्तियारले हेटौंडा बोलाएको शिक्षा कार्यालय स्रोतले बतायो । ती विद्यालयहरुको स्थलगत अनुगमन पश्चात अनियमितता भएको आशंकाका साथ १ सय ७५ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अख्तियारको टोलीले एकसाता भन्दा बढी समय लगाएर केही दिनअघि मलंगवामा बयान लिएको थियो ।
स्रोत व्यक्तिहरुको फागुन २२ गते विहिबारदेखि र शुक्रबार २३ गतेबाट इन्जिनियर, लेखापाल, कार्यक्रम अधिकृत, शाखा अधिकृत र प्राविधिक सहायकहरुको बयान अख्तियारले हेटौंडा कार्यालयमा सुरु गरेको छ । अख्तियारले जिल्ला शिक्षा कार्यालयमा जिम्मेवारी सम्हालेका विद्यालय प्रशासनका राजेश्वर चौरासिया, रामआधार कुशवाहा, अरुण शंकर पाठक, शाखा अधिकृतहरु कर्णबहादुर बुढाथोकी, चेतकुमार पोखरेल, विनि ओम विश्वकर्मा, कविराज उप्रेती तथा लेखापालको जिम्मेवारी सम्हालेका विश्वराज पोखरेल, शिवशंकर कुशवाहा, एकबहादुर श्रेष्ठ, हरिष्चन्द्र अर्याल, सुरप्रसाद दंगाल, रामविनय राय लगायतलाई अख्तियारले बयानका लागि बोलाएको स्रोतले जनायो । त्यस्तै २०६५ साल यता स्रोत व्यक्तिको जिम्मेवारी सम्हालेका एवं बहालरत भोगेन्द्रकुमार यादव, रामचन्द्र महतो, लक्ष्मि राय, कमलेशकुमार कर्ण, रघुनाथ पाण्डे, सुनिलकुमार प्रसाद, नारायणनाथ उप्रेती, नरेन्द्र भट्टराई लगायतलाई समेत फागुन २२ गते विहिबारबाटै अख्तियारले बयान सुरु गरेको शिक्षा कार्यालय स्रोतले बतायो ।
‘केही कुरा बुझ्नु छ’ भनि अख्तियारले जिल्ला शिक्षा कार्यालयमा शिक्षा अधिकारी सहित विभिन्न जिम्मेवारी सम्हालेका र हाल कार्यरत कर्मचारीलाई बयानका लागि बोलाएको शिक्षा कार्यालय स्रोतले जनाएको छ । अनियमित ढंगले विद्यालयको अनुमति दिन र अनुदान निकासामा शिक्षा कार्यालयका कर्मचारीहरुको समेत संलग्नता रहेपनि उनीहरु भने अख्तियारको अनुसन्धान घेरामा नपरेको भन्दै जिल्लामा व्यापक गुनासो आइरहेको थियो । यसबारे बुझ्न शुक्रबार राती सम्पर्क गर्दा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माको मोबाइल उठेन ।

No comments:

Post a Comment