आगामी वर्षका लागि तीनअर्ब बजेट सार्वजनिक
सर्लाही समाचारदाता
मलंगवा, फागुन २६ । जिल्ला विकास समितिको सोमबार १९औं जिल्ला परिषद सम्पन्न भएको छ । परिषदमा स्थानीय विकास अधिकारी उमेश बस्नेतले आगामी आर्थिक वर्ष ०७१÷०७२ का लागि सर्लाहीको विकास निर्माणमा तीनअर्ब एककरोड ११ लाख ९५ हजार ६ सय ५६ रुपैयाको बजेट प्रस्तुत गरे ।
जसमा भौतिक पूर्वाधार विकासतर्फ ९३ करोड ८२ लाख २४ हजार नौसय ५२ रुपैया, सामाजिक विकासतर्फ एकअर्ब ६४ करोड ४२ लाख ७३ हजार ५ सय ७४ रुपैया, आर्थिक विकासतर्फ १६ करोड ६९ लाख ८४ हजार दुईसय २१ रुपैया र वन तथा वातावरण विकासतर्फ २६ करोड १७ लाख १२ हजार नौसय २० रुपैयाको बजेट रहेको छ ।
भौतिक पूर्वाधार विकासतर्फ डिभिजन सडक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपाल विद्युत प्राधिकरण, मध्यमाञ्चल सिंचाई डिभिजन कार्यालय, गैर सरकारी संघ संस्थाहरु, जिल्ला विकास समितिको कार्यालय एवं गाविसको कार्यालयहरुबाट खर्च हुनेछ । त्यस्तै सामाजिक विकासतर्फ जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, गैर सरकारी संघ संस्थाहरु, जिविसको कार्यालय तथा गाविसको कार्यालयहरुले खर्च गर्नेछन् ।
त्यसैगरी आर्थिक विकासतर्फ डिभिजन सहकारी कार्यालय, जिल्ला पशुसेवा कार्यालय, कृषि सामग्री कम्पनी, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला कृषि विकास कार्यालय, गैर सरकारी संघ संस्थाहरु, जिविसको कार्यालय एवं गाविसको कार्यायहरुबाट खर्च हुनेछ । त्यस्तै वन तथा वातावरण विकासतर्फ जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, जनताको तटबन्ध, गैर सरकारी संघ संस्थाहरु, जिविसको कार्यालय तथा गाविसको कार्यालयहरुले खर्च गर्नेछन् । प्रस्तुत बजेट प्रशासनिक र कार्यक्रम दुवैका लागि भएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । स–साना योजनामा ‘कनिका छरे जस्तै’ गरि भरसक बजेट छुट्टयाउने काम नगरिएको समेत स्थानीय विकास अधिकारी बस्नेतले परिषदमा जानकारी दिए ।
स्थानीय विकास अधिकारी बस्नेतको अध्यक्षतामा भएको परिषदमा जिल्ला निवासी सभासद्हरु डा. अमरेश सिंह, हरेश महतो, कमलादेवी महतो, हरि उप्रेती, रञ्जना सरकार, शम्भुलाल श्रेष्ठ, राजेश्वरी देवी साह, जंगीलाल राय र हरिषचन्द्र साह विशिष्ट अतिथि रहेका थिए । सभासद्हरुबीच हानाथाप भएपछि कसैलाई पनि प्रमुख अतिथि नबनाइएको जिविस स्रोतले जनाएको छ ।
परिषद्मा जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख कमलेश्वरप्रसाद बर्माले स्वागत गरेका थिए भने प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरे, पूर्व मन्त्री रामनारायण सिंह, पूर्व सहायक मन्त्री सोनेलाल यादव, नेपाली कांग्रेसका अध्यक्ष लक्ष्मण राय, नेकपा एमालेका अध्यक्ष मनोज देवकोटा, एकिकृत नेकपा माओवादीका इन्चार्ज अच्युतम काÇले, सद्भावनाका अध्यक्ष प्रमोद साह सहित विभिन्न राजनैतिक दलका प्रमुखहरु, आदिवासी जनजाती महासंघ समन्वय परिषदका जिल्ला अध्यक्ष अमिरी चौधरी, अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष कल्पना कटुवाल, महिला सञ्जालकी अध्यक्ष शुभद्रादेवी महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष अमन कोइराला, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष हरिकान्तलाल कर्ण लगायत दुई दर्जनभन्दा बढी वक्ताहरुले शुभकामना मन्तव्य सहित आ–आÇना धारणा राखेका थिए । पुष्करमणि घिमिरेको सञ्चालनमा भएको परिषद उद्घाटनमा उपस्थित ९ जना सभासद्हरुले दिप प्रज्जवलन गरेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
जविसको ठूलो सभाहलमा भएको परिषदको सामुदायिक रेडियो सर्लाही हरिवन र माई एफएम मलंगवाले प्रत्यक्ष प्रशारण गरेका थिए भने इन्टरनेट सेवा (वेभसाइट)मा समेत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको थियो । परिषद्मा जिल्ला स्थित सम्पूर्ण सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिक नेताहरु, नागरिक समाजका अगुवा, बुद्धिजीवि, कानून व्यवसायी, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
No comments:
Post a Comment