पाँचजनालाई महोत्तरी कारागार पठाइयो
सर्लाही समाचारदाता
मलंगवा, फागुन २७ । विभिन्न मुद्धामा पूर्पक्षका लागि कारागार चलान भएका पाँचजनालाई मंगलबार महोत्तरीतर्फ पठाइएको छ ।
जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार लालबन्दी गाविस–८ का करिब २६ वर्षिय अवधेशकुमार साह, सोही ठाउँका रमेशकुमार विक, मोतिपुर गाविस–३ का २७ वर्षिय राजेश साह, १८ वर्षिय दिनेश साह र खुटौना गाविस–६ निवासी १८ वर्षिय सुरज पासवानलाई महोत्तरी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीका अनुसार लालबन्दीका अवधेश र रमेशलाई लागूऔषध कारोबारीको आरोपमा जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षका लागि थूनामा पठाइएको हो । अवधेशलाई दुईमहिना अघि सदरमुकाम मलंगवाबाट लागूऔषध सहित पक्राउ गरिएको थियो भने उनको बयान अनुसार विकलाई घरबाटै पक्राउ गरिएको थियो ।
त्यस्तै राजेश, दिनेश र सुरजलाई भने हातहतियार खरखजाना ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पूर्पक्षका लागि थूनामा पठाइएको हो । उनीहरुलाई गत माघ २९ गते बुधबार साँझ इलाका प्रहरी कार्यालय हरकठवाको टोलीले नियन्त्रणमा लिएको थियो । सेखौना गाविस–३ स्थित गाउँमा मोटरसाईकलमा हिडिरहेका दम्पतिमाथि लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बरहथवाबाट हरकठवा गाविस–९ स्थित घरतर्फ मोटरसाईकलमा गईरहेका जंगली महतो दम्पतिमाथि लुटपाट गरि भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो । लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको साथबाट नगद २९ हजार ५ सय र नलकटुवा पेस्तोल १ थान एवं त्यसमा लाग्ने गोली ४ थान बरामद् भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका तीनजना विरुद्ध हातहतियार खरखजाना ऐन अनुसार जिल्ला प्रशासन कार्यालय र रजहनी चोरी मुद्धामा जिल्ला अदालतमा कार्वाही प्रकृया अगाडी बढाएको थियो । अदालतले भने तीनजनालाई जनही ६५–६५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएपनि हातहतियार मुद्धामा कारागार चलान भएका हुन् ।
No comments:
Post a Comment