Sunday, March 30, 2014

नवलपुरको अतिक्रमण हटाउन डोजर लगाइने

सर्लाही समाचारदाता
नवलपुर, चैत १५ । नवलपुर बजारमा राजमार्गमा भएको अतिक्रमण हटाउन आगामी सोमबार (चैत १७) गतेबाट डोजर लगाइने भएको छ । शनिबार बसेको सर्वपक्षीय बैठकले नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग र नवलपुर–मलंगवा सडकखण्ड दायाँबायाँ आगामी सोमबारबाट नियमानुसार सरसफाई गर्ने निर्णय गरेको हो । सर्वपक्षीय बैठकले सडकको अतिक्रमण हटाउन स्थानीय इस्किलाल पासवानको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरेको छ । नियमानुसार सडक दायाँबायाँको अतिक्रमण हटाइने समितिका संयोजक पासवानले बताए । ‘‘सडक दायाँबायाँ रहेका अतिक्रमणहरु हटाउन सम्बन्धितलाई यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गरिसकेका छौं ।’’ शनिबार उनले भने–‘‘भोली साँझसम्म सम्बन्धितले नियम विपरितका अतिक्रमण खाली नगराए पर्सीबाट डोजर लगाएर खाली गराउँछौं र डोजरको खर्च समेत सम्बन्धित घरधनी वा अतिक्रमणकारीबाट असुल गर्नेछौं ।’’
नेत्रगंज गाविसका सचिव गोपाल थापाले शनिबार विहान जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी सोमबारबाट डोजर लगाएर अतिक्रमण हटाउने निर्णय गरेको बताए । ‘‘गाविसको कार्यालयका तर्फबाट यसअघि पटक–पटक पत्र पत्रिका, रेडियोमा सार्वजनिक सूचना एवं मौखिक रुपमा समेत जानकारी गराइसकेको छौं ।’’ सचिव थापाले भने–‘‘अझैपनि सडकको अतिक्रमण नहटाइएकाले सर्वपक्षीय भेला राखेर डोजर लगाउने निर्णय गरेका हौं ।’’
हरिवन र लालबन्दी बजारमा यसअघि नै नियमानुसार पूर्व–पश्चिम राजमार्गमा राखिएका अतिक्रमण हटाएर केहि व्यवस्थित गरिएको भएपनि नवलपुर बजारमा भने अतिक्रमणका कारण बजारको स्वरुप नै विग्रेको भन्दै स्थानीय अगूवाहरु अतिक्रमण हटाउने अभियानका लागि जुर्मुराएका हुन् । पूर्व–पश्चिम राजमार्गको मध्य भागबाट दायाँबायाँ साँढे ८२ फिट तथा नवलपुर मलंगवा सडकखण्डको मध्य भागबाट दायाँ बायाँ ५० फिट भित्र निर्माण
भएका घर, टहरा, घुम्ति पसल एवं राखिएका निर्माण सामग्री, होर्डिङ बोर्ड लगायत सामग्रीहरु डोजर लगाएर खाली गराउने शनिबारको सर्वपक्षीय बैठकले निर्णय गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्व तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालयदेखि पश्चिम लखन्देही पुलसम्म र नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत लर्डब्राइट बोर्डीङ स्कुलसम्म अतिक्रमण हटाइने छ । त्यस्तै उत्तरतर्फ जनता उमावि नवलपुरसम्म बाटोको नक्शा बमोजिम अतिक्रमण हटाइने समेत समितिका संयोजक पासवानले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर परिसरमा शनिबार विहान भएको सर्वपक्षीय बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कमल खत्री, इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख संजीव दुलाल, नेत्रगंज गाविसका सचिव गोपाल थापा, विभिन्न राजनैतिक दलका नेताहरु, नवलपुर व्यापार कल्याणकारी समितिका अध्यक्ष शुशिल चालिसे सहित विभिन्न व्यापारीहरु, स्थानीय नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment