सर्लाही समाचारदाता
मलंगवा, चैत १३ । सदरमुकाम मलंगवा स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थामा बुधबार राती चोरी भएको छ ।
मलंगवा नगरपालिका–१० स्थित कार्यालयबाट नगद ५० हजार, कम्प्यूटर एकथान र विभिन्न रजिष्टर एवं कागजात चोरी भएको प्रहरीले जनायो । प्रहरीका अनुसार बिहान ११ बजे कर्मचारीले कार्यालय खोल्ने क्रममा चोरी भएको बारे थाहा लागेको हो ।
संस्थाको पछाडि पट्टी रहेको झ्यालको ग्रिल फोडेर भित्र पसेका चोरहरुले सेफ फोडेर ५० हजार नगद एवं कम्प्युटर तथा केही कागजात लगेको संस्थाका कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । गएराती चोरी भएको भएपनि बिहान कार्यालय खोल्ने क्रममा भित्र रहेको सम्पूर्ण सामानहरु छरिएका र दराज फोडेर चोरी भएको फेला पारिएको कर्मचारीहरुको भनाई छ ।
प्रहरीले संस्थाको चोरी भएको रजिष्टर एवं कागजात मुुसैली गाविस–३ स्थित एक पोखरिमा फालिएको अवस्थामा फेला पारेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले बुधबार नै तीन जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको र पक्राउ परेकाहरुसँग सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्त पृथ्वीनारायण ओलीले बताए ।
No comments:
Post a Comment