Friday, March 14, 2014

उखुको मुल्य तय गर्न त्रिपक्षीय कार्यदल

उखुको मुल्य तय गर्न त्रिपक्षीय कार्यदल
सर्लाही समाचारदाता
हरिवन, फागुन २९ । चालु सिजनका लागि उखुको मूल्य निर्धारण गर्न विहिबार त्रिपक्षीय कार्यदल गठन भएको छ । विहिबार अपरान्ह उद्योग मन्त्रालय काठमाडौंमा भएको उखु किसान प्रतिनिधि, चिनी उद्योगपति र सरकारी अधिकारीहरुबीचको त्रिपक्षीय वार्ताले उखुको मुल्य तय गर्नका लागि १३ सदस्यीय कार्यदल गठन गरेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
दिउँसो १ बजेदेखि झण्डै डेढ घण्टा चलेको वार्ताले तीनवटै पक्षबाट प्रतिनिधित्व हुने गरि मूल्य निर्धारण गर्नका लागि कार्यदल गठन गरेको हो । कार्यदलमा उखु किसानका तर्फबाट नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, मिलगेट उखु उत्पादक समिति हरिवनका नेता राजकुमार उप्रेती, नवलपरासीका उखु किसान नेता उमेशप्रसाद यादव र महोत्तरीका किसान नेता महाशंकर सिंह रहेका छन् । त्यस्तै कार्यदलमा चिनी उद्योगीहरुको तर्फबाट इन्दुशंकर चिनी उद्योगका निर्देशक राजेश केडिया सहित उद्योगपतिहरु राजकुमार अग्रवाल र शशिकान्त अग्रवाल रहेका छन् । त्यस्तै सरकारका तर्फबाट भने उद्योग, कृषि, वाणिज्य र अर्थ मन्त्रालयका एक–एकजना सहसचिव, उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र सिंह कुशवाहा सदस्य रहेका छन् भने उद्योग मन्त्रालयका एकजना उपसचिवलाई कार्यदलमा सहसचिव तोकिएको छ ।
उद्योग सचिव कृष्ण ज्ञवालीको अध्यक्षतामा भएको छलफलले उक्त कार्यदल गठन गरेको महासंघका अध्यक्ष मैनालीले बताए । ‘‘उद्योग मन्त्री बाहिर रहनु भएकाले कार्यदलमा सरकारी स्तरबाट प्रतिनिधित्वको पदहरुमात्र तोकिएको छ ।’’ मैनालीले भने–‘‘मन्त्रीज्यू आउने वितिकै को–को सहसचिव कार्यदलमा रहने भन्ने एकदुई दिनभित्रै तोकिने उद्योग सचिवज्यूबाट आश्वासन पाएका छौं ।’’
उखु उत्पादनको लागत, चिनीको मुल्य लगायत विविध पक्षमा बुझेर कार्यदलले आगामी चैत १५ गतेभित्र उखुको मुल्य निर्धारण गर्ने वा नसके उद्योग मन्त्री समक्ष आवश्यक प्रतिवेदन पेश गर्ने सहमति समेत भएको अध्यक्ष मैनालीले बताए । उखु किसानहरुले प्रति क्वीन्टल उखुको मुल्य गत वर्ष पाएको जति अर्थात कम्तिमा चारसय ८१ रुपैंया हुनुपर्ने र उद्योगपतिहरुले चारसय आठ रुपैंयाभन्दा दिन नसकिने जिकिर गर्दै आएका छन् ।
उखु उत्पादनमा वर्षेनी लागत बढ्दै गएको र हरेक बस्तुको मुल्य गतवर्षको तुलनामा हाल १० प्रतिशतभन्दा बढीले रहेको दावी गर्दै किसान नेताहरुले उखुको मुल्य कम्तिमा गतवर्षको जति पाउनुपर्ने माग राख्दै आएका छन् । उद्योगपतीहरुले भने चिनीको भाउ गतवर्षको भन्दा घटेकाले उखुको मूल्य घटाइनुपर्ने जिकिर गर्दै आएका छन् । महासंघ अध्यक्ष मैनाली उखुको मुल्य गतवर्षको भन्दा कममा कुनै हालतमा नमानिने बताए । ‘‘सरकारले अनुदान दिएर होस् वा जेगरी होस् हामिलाई गतवर्षको भन्दा कम मुल्य दिन खोजिए मान्य हुँदैन ।’’ मैनालीले चेतावनी दिए–‘‘मुल्य घटाउन खोजिए आन्दोलनको विकल्प छैन ।’’
संविधान सभासद्हरुलाई समेत उखुको उचित मुल्य दिलाउनका लागि पहल गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष मैनालीले बताए । ‘‘आजै हामिले १०–१२ जना सभासद्ज्यूहरुलाई भेट गरेर समस्या दर्शाएका छौं ।’’ काठमाडौंमा रहेका अध्यक्ष मैनालीले टेलिफोनमा सर्लाही दैनिकसँग भने–‘‘मुल्य घटाउने षडयन्त्र रचिए सडक र सदन दुवैमा दवाव सृजना गर्ने तयारीमा लागेका छौं ।’’ सभासद्हरुले समेत सकारात्मक प्रतिबद्धता जनाएको उल्लेख गर्दै अध्यक्ष मैनालीले किसानलाई मार पर्ने कुरामा सदन नै अवरुद्ध गर्नेसम्मको प्रतिबद्धता सभासद्हरुबाट आइरहेको बताए ।
यसअघि चौथो चरणको वार्तामा समेत मुल्यका विषयमा सहमति हुन नसकेपछि उद्योगपती र किसान नेताहरुले मुल्य तय गर्ने वार्तामा मध्यस्थता गर्न सरकारलाई आग्रह गर्ने सहमति गरेका थिए । सोही सहमति अनुसार उद्योगपति र किसान नेताहरुले सरकारलाई मध्यस्थताका लागि केही समय अघि आग्रह गरेका थिए ।
तेस्रो चरणको वार्तामा किसान नेता र उद्योगपतिहरुबीच मिलगेट क्षेत्रमा प्रति क्वीन्टल चारसय र अन्य क्षेत्रका किसानलाई तीनसय ७५ रुपैंया पेश्कि दिने गरि उद्योग सञ्चालन गर्ने सहमति बमोजिम डेढमहिना भन्दा अघिदेखि चिनी उद्योगहरु सञ्चालित छन् । हाल किसानलाई उखु दिएबापत उद्योगले दिने नेटपूर्जीमा सुन्य मुल्य लेखिने गरिएको छ । उखु मुल्य तय नहुँदा किसानहरुमा अन्यौलता कायमै रहेको छ ।
२० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने सर्लाही नेपालमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो ।

No comments:

Post a Comment