Friday, March 21, 2014

नारायणपुर घटनामा ज्यान मार्ने उद्योग

नारायणपुर घटनामा ज्यान मार्ने उद्योग
सर्लाही समाचारदाता
मलंगवा, चैत ०५ । होलीका दिन अर्थात गत सोमबार दुईपक्षबीच भएको झडपमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले नारायणपुर गाविसका तीनजनामाथि ज्यान मार्ने उद्योग अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाएको छ ।
नारायणपुर गाविस–३ का २३ वर्षीय अमित मण्डल, २६ वर्षीय कपल मण्डल र ४३ वर्षीय चण्डेश्वर मण्डललाई जिल्ला अदालतबाट बुधबार ज्यान मार्ने उद्योग अन्तर्गत म्याद लिएर अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जबरजस्ती रङ्ग दलेको विषयमा नारायणपुर गाविस–३ मा सोमबार साँझदेखि रातीसम्म पटक–पटक दुईपक्षबीच झडप भएको थियो ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेपनि तीनजनाको मात्र संलग्नता देखिएकाले उनीहरुलाई मुद्धा प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । कुटाकुटमा स्थानीय ५५ वर्षिय हरिचन मण्डल र ३० वर्षिय वैजु मण्डल गम्भिर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि सोमबार राती १० बजेतिर वीरगंजतर्फ पठाइएको र जसमध्ये वैजुलाई वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालले थप उपचारका लागि मंगलबार विहान वीर अस्पताल काठमाडौं रेफर गरेको प्रवक्ता ओलीले बताए ।
त्यस्तै घटनामा परि स्थानीय शंकर मण्डल, प्रमोद मण्डल, जयनाथ मण्डल, सरोज मण्डल, धर्मेन्द्र मण्डल सहित एकदर्जन भन्दा बढी स्थानीय बासिन्दा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । प्रवक्ता ओलीका अनुसार झडप नियन्त्रण गर्न गएका नारायणपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामछविला यादव र प्रहरी हबल्दार हरिबहादुर खड्का समेत सामान्य घाइते भएका छन् ।

No comments:

Post a Comment