Friday, March 21, 2014

होली झडपका घाइतेको मृत्यु

होली झडपका घाइतेको मृत्यु
सर्लाही समाचारदाता
नारायणपुर, चैत ०६ । होली खेल्ने क्रममा विवाद हुँदा दुईपक्षबीच भएको झडपबाट घाईते नारायणपुर गाविसका एक सर्वसाधारणको मृत्यु भएको छ ।
झडपमा परि गम्भिर घाईते भएका नारायणपुर गाविस–३ निवासी ३० वर्षीय बैजु मण्डलको विहिबार बिहान वीर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो । गत सोमवार होलीमा जबरजस्ती रङ्ग दलेको विषयमा स्थानीय दुई पक्षबीच झडप हुँदा मण्डल सहित नारायणपुरमा आधा दर्जन भन्दा बढी व्यक्तिहरु घाईते भएका थिए । कुटाकुटमा गम्भिर घाइते भएका अर्का स्थानीय ५५ वर्षिय हरिचन मण्डलको वीरगंजमा उपचार भईरहेको छ । झडप नियन्त्रण गर्न गएको प्रहरी टोलीका समेत केही सुरक्षाकर्मीहरु घाईते भएका थिए ।
झडपमा संलग्न भएका स्थानीय २३ वर्षीय अमित मण्डल, २६ वर्षीय कपल मण्डल र ४३ वर्षीय चण्डेश्वर मण्डल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ । गम्भिर घाईते मण्डलको उपचारका क्रममा मृत्यु भएपछि पक्राउ परेका तीनै जना बिरुद्ध अब कर्तव्य मुद्धा लगाईने प्रहरी स्रोतले जनायो ।
हरेकवर्ष सर्लाहीमा होलीको विषयमा झडप हुने र सर्वसाधारणको मृत्यु नै हुने क्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । विगत वर्षहरुमा पनि होलीका दिन हुने झडपमा परेर एक न एकजनाको मृत्यु हुँदै आईरहेको थियो ।

No comments:

Post a Comment