Monday, March 24, 2014

‘घोगामा दाना नलाग्नु किसानकै कमजोरी’

‘घोगामा दाना नलाग्नु किसानकै कमजोरी’
सर्लाही समाचारदाता
लालबन्दी, चैत १० । जिल्लाको उत्तरी क्षेत्र स्थित विभिन्न स्थानमा गरिएको मकै खेतीमा घोगामा दाना नलाग्नुमा किसानकै कमजोरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सोमबार स्थलगत रुपमा अवलोकन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारी नेतृत्वमा कृषि अधिकृतहरुको टोलीले त्यस्तो निष्कर्श निकालेको हो । ‘‘किसानहरुले देखाएको मकैको प्याकेट अनुसार डेट एक्स्पायर भेटियो ।’’ जिल्ला कृषि विकास कार्यालय प्रमुख तिवारीले भने–‘‘प्याकेट भित्र रहेका मकैका दाना साना र सदाभन्दा फरक खाले हुँदा पनि फिर्ता नगरि रोपिएको रहेछ ।’’ किसानहरुले वेवास्ता गर्दा यस्तो स्थिती आएको समेत कृषि प्रमुख तिवारीले बताए । सोमबार पत्थरकोट गाविस–९ नयाँगाउँमा स्थानीय किसानहरुले छरेको मकैका प्याकेट देखाउँदा अधिकांश डेट एक्स्पायर फेला परेको समेत कृषि प्रमुख तिवारीले बताए ।
मकैको घोगामा दाना नलागेको भन्दै किसानहरुले आइतबार पूर्व–पश्चिम अन्तर्गत लालबन्दीमा प्रदर्शन गरेका थिए । काट्ने बेला भएका मकैमा दाना नलागेपछि ‘थोता’ मकैका घोघा बोकेर पत्थरकोट र अत्रौलीका किसानहरुले लालबन्दीमा प्रदर्शन गरेका हुन् । लालबन्दीका प्रत्येक विउ बिक्रेता पसलमा समेत पुगेर किसानहरुले विरोध प्रदर्शन गरेका थिए ।
विशेषगरि उक्त क्षेत्रमा छरिएको राजकुमार जातको हाइब्रीड मकैको बोटमा घोगामा दाना नलागेको स्थानीय किसानहरुले गुनासो गरे । अत्रौली, पत्थरकोट, परवानीपुर गाविस लगायतको करिब २० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेती अन्तर्गत घोगामा दाना नलागेको किसानहरुले बताएका छन् । बाली भित्र्याउने समयमा बोटमा दाना नै नलागे पछि मकै खेती गर्ने किसानहरु चिन्तीत बनेका छन् । आफूले १५ कठ्ठामा लगाएको मकै खेती अन्तर्गत घोगामा दाना नलागेको पत्थरकोट गाविस–९ का दुर्गाबहादुर माझीले बताए । “ठेक्कामा लिएर १५ कठ्ठामा गरेको मकै खेती घोगामा दाना नलागेका कारण विजोग भएको छ ।’’ माझीले भने–‘‘रोप्दाखेरी प्याकेट भित्रका दाना केही साना देखिएपनि हतार भएकाले छरियो, म्याद सकिए नसकिएको हेर्ने तिर ध्यान नै गएन ।’’
उक्त गाउँका अधिकांश किसानले जग्गा ठेक्कामा लिएर मकै खेती गरेकाले घोगामा दाना नलाग्दा उनीहरु अत्यन्त मर्कामा परेका छन् । २ वर्ष अगाडीसम्म राजुकमार जातको बीउबाट प्रति कठ्ठा ३ क्वीन्टल सम्म मकै फल्ने गरेपनि हाल भने अधिकांश बोटका घोगामा दाना नलागेको स्थानीय किसान मसिना परियारले बताइन् । उनले १० कठ्ठा जग्गा ठेक्कामा लिएर मकै खेती गरेकी थिइन् । किसानहरुले लालबन्दी बजार स्थित विभिन्न पसलबाट बीउ, बिजन आदी खरिद गर्ने गरेका छन् । लालबन्दी स्थित विभिन्न पसलबाट राजकुमार जातका तीनहजार एकसय २५ केजी मकैको विउ विक्री भएको सोधपुछबाट थाहा भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिवारीले बताए । उक्त विउले कम्तिमा तीनसय ४५ विगाह क्षेत्रफल जग्गामा मकै खेती गर्न पुग्दछ । किसानहरुले मकैको विउ विक्रेता वा सरकारबाट क्षतिपूर्ति भराउनुपर्ने माग समेत गरेका छन् । केही वर्षअघि शंकरपुर, राजघाट, हजरिया लगायत विभिन्न गाविसमा समेत मकैका घोगामा दाना नलाग्दा किसानहरु पीडित बनेका थिए । पछि सरकारले पीडित किसानहरुले विभिन्न किसिमले राहत उपलब्ध गराएको थियो ।

No comments:

Post a Comment