सर्लाही समाचारदाता
मलंगवा, असोज २२ । जिल्ला स्थित सकृय राजनैतिक दलका प्रमुखहरुले आगामी संविधान सभा निर्वाचन स्वच्छ र भयरहित ढंगले सम्पन्न गर्नका लागि निर्वाचन आयोगद्वारा तोकिएको आचार संहिता उल्लंघन नगर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकारिता विकास प्रतिष्ठानले मंगलबार सदरमुकाम मलंगवामा आयोजना गरेको ‘संविधान सभा निर्वाचन ः तयारी र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कार्वाहीको दायरामा ल्याउन समेत आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश मिश्रको सभापतित्व तथा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै कतिपय दलका नेताहरुले भने सुरक्षा अधिकारीहरुसमक्ष कुनै उम्मेद्वारलाई काख र कुनै उम्मेद्वारलाई पाखा नगर्न समेत सचेत गराए । कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अच्युतम काÇलेले निर्वाचन स्वच्छ र भयरहित ढंगले सम्पन्न गर्नका लागि आÇनो पार्टी आचार संहिता पालना गर्न तयार रहेको बताए । ‘‘हामी आचार संहिता भन्दा बाहिर रहदैनौं ।’’ उनले अपेक्षा गरे–‘‘सबै दलबाट त्यस्तो भएमात्र निर्वाचन स्वच्छ र भयरहित हुन्छ ।’’ सुरक्षा निकायले जिल्लाका संवेदनशिल स्थानहरुमा बढी सजग र चनाखो हुनुपर्ने काÇलेको धारणा थियो ।
नेपाली कांग्रेसका सभापति लक्ष्मण रायले कतिपय पार्टीले चुनाव जित्न पैसाको चलखेल गरिरहेको आरोप लगाए ।
‘‘कतिपय दलहरुले चुनाव आÇनो पक्षमा पार्नका लागि पैसाको खोलो बगाएका छन्, जुन आचार संहिताको ठाडो उल्लंघन हो ।’’ उनको प्रतिबद्धता थियो–‘‘तर हामीआचार संहिता विपरितका त्यस्ता क्रियाक्लाप गर्नेछैनौं र गर्नेहरुको पहिचान गरी सम्बन्धित निकायबाट कार्वाही हुनुपर्छ ।’’
नेकपा एमालेका अध्यक्ष मनोज देवकोटाले आÇनो पार्टीका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले नै सर्लाहीबाट उम्मेद्वारी दिएकाले आफूहरु एकदम संयमित भएर अगाडी बढिरहेको दावी गरे । ‘‘हाम्रो दलका राष्ट्रिय अध्यक्ष नै यहाँबाट उम्मेद्वार खडा हुनु भएको छ ।’’ उनले भने–‘‘त्यसैले हामी अत्यन्त सचेत र संयमित छौं, कसैलाई डर, धाक र धम्की दिदैनौं ।’’
मधेशी जन अधिकार फोरम नेपालका अध्यक्ष अशोक कुमार यादवले स्वच्छ र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्नका लाग आफू हरदम सहयोग गर्न तयार रहेको बताए । सुरक्षा निकायले निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्तिहरुको सुरक्षामा काखा र पाखा गरेको आरोप लगाउँदै अध्यक्ष यादवले आÇनो पार्टीबाट हुने आचार संहिता विपरितका कामको जिम्मेवारी आफूले लिने बताए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष जंगीलाल रायले सुरक्षा निकायले स्वतन्त्र र निश्पक्ष ढंगबाट अगाडी बढ्नुपर्ने बताए । तमलोपाले आचार संहिता विपरितका कुनै क्रियाक्लाप नगर्ने उनको प्रतिबद्धता थियो । त्यस्तै सद्भावना पार्टीका अध्यक्ष प्रमोद साहले आचार संहिता विपरित क्रियाकलाप गरेको पाईए सद्भावनाकै कार्यकर्तामाथि पनि कार्वाही गर्न आग्रह गरे ।
तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष रामचन्द्र सिंह कुशवाहले आफूहरु आचार संहितामा बाँधिएरै अगाडी बढिरहेको बताए । उनले सुरक्षा निकायले उचित सुरक्षाको प्रबन्ध मिलाउन नसकेको दावी गरे । ‘‘पार्टीको कार्यक्रमहरु सकेर घर जाने क्रममा बाँके र सागरनाथ जंगल क्षेत्र हुँदै मैले अधिकांश समय राती राती नै हिड्डुल गर्नु परिरहेको छ ।’’ उनले भने–‘‘तर जंगल क्षेत्रमा सुरक्षाकर्मीहरुको कुनै उपस्थिती नै भेटेको छैन, सुरक्षा व्यवस्थामा ध्यान दिनु अत्यन्त जरुरी छ ।’’कतिपय दलका नेताहरुले आफू बाहेकका दलहरुबाट निर्वाचन आचार संहिताको खुलेआम उल्लंघन भईरहेको र आफ्नो तर्फबाट भने कुनै गल्ती नभएको दावी गरेका थिए । एमाओवादी अध्यक्ष काÇले र एमाले अध्यक्ष देवकोटा बाहेक कार्यक्रममा सहभागि अन्य दलका अध्यक्षहरु स्वयं आगामी संविधान सभा निर्वाचनमा उम्मेद्वार बनेका छन् । उम्मेद्वार बनेका पार्टी प्रमुखहरुले सुरक्षा निकायले अर्को पार्टीका उम्मेद्वारलाई बढी सुरक्षा प्रदान गरिरहेको आरोप–प्रत्यारोप समेत गरे ।
कार्यक्रममा नागरिक समाजका महेन्द्र प्रसाद कर्ण, शिवचन्द्र चौधरी, उग्रकान्त झा, संचारकर्मीहरु चूडामणि वाग्ले, रामबाबु खड्का, स्थानीय शान्ति समितिकी संयोजक भवानी कोइराला लगायतले दलहरुबाट निर्वाचन आचार संहिताको उल्लंघन भईरहेको तर्फ औंल्याएका थिए । दलका नेताहरु एवं उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गर्ने, कार्यक्रममा बालबालिका प्रयोग गर्ने, तोकिएको भन्दा बढी सवारी साधनको लर्को नै लगाउने, पैसाको चलखेल गर्ने, डर, त्रास र भयको वातावरण सृजना गर्ने लगायत आचार संहिता विपरितका क्रियाक्लापहरु भईरहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा दलका नेता लगायत सहभागिहरुबाट उठेका जिज्ञासा र निर्वाचनको तयारी बारेमा जिल्ला न्यायाधिश एवं प्रमुख निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले प्रस्ट्याएका थिए । उनले निर्वाचनमा सहभागि दलहरुलाई आचार संहिताको ख्याल गरेर अगाडी बढ्न आग्रह गरे । सम्बन्धित पक्षहरुले अर्काको आलोचना गर्ने भन्दा पनि आÇनो व्यवहार सुधार गर्नेतर्फ अग्रसर भए कुनै समस्याहरु नआउने उनको धारणा थियो । आचार संहिता विपरितका क्रियाकलाप भईरहेको देख्ने जो सुकैलाई तत्काल खबर गर्न समेत उनले आग्रह गरे । राजनैतिक दल, सुरक्षा निकाय लगायत सम्बन्धित सबै पक्षले विधिको पालना गरेर अगाडी बढनुपर्ने मुख्य निर्वाचन अधिकृत अधिकारीको धारणा थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले जिल्लाको सडकहरुको दुरावस्थाका कारण सुरक्षा व्यवस्थामा कठिनाई भईरहेको बताए । ‘‘सडकहरु जीर्ण भएका कारण सुरक्षा व्यवस्था मिलाउन कठिनाई भईरहेको छ ।’’ उनले भने–‘‘जीर्ण सडकहरु मर्मत संभारका लागि सुरक्षाको कारण दर्शाएर जिल्ला सुरक्षा समितिबाटै निर्णय गरेर गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छौं ।’’ उनले आगामी केही दिनभित्र एकिकृत सुरक्षा योजना लागू गरिने र आपराधिक क्रियाकलाप गर्ने एवं निर्वाचनलाई प्रभावित पार्न खोज्ने तत्वहरुलाई कार्वाहीको दायरामा ल्याईने बताए । उम्मेद्वारहरुको संख्या बढी भएका कारण पनि सुरक्षामा केही व्यवधान उत्पन्न भएको उनको धारणा थियो । निर्वाचनका चुनौतीहरुको सामना गर्न प्रशासन एक्लैको मात्र केही नलाग्ने उल्लेख गर्दै प्रजिअ घिमिरेले त्यसमा राजनैतिक दल, नागरिक समाज, संचारकर्मी लगायतको पनि उचित समन्वय र सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रम समापन गर्दै अध्यक्ष मिश्रले दलहरुले गरेको प्रतिबद्धता व्यवहारमा लागू गर्न माग गरे । जिल्लामा क्रियाशिल संचारकर्मीहरुले कुनै वादमा नरही स्वतन्त्र ढंगले समाचार संप्रेषण गर्ने विश्वास दिलाउँदै मिश्रले सम्बन्धित सबै पक्षहरुले विधि भित्र रहेर अगाडी बढे निर्वाचन सफल रुपमा सम्पन्न हुने बताए । निर्वाचन सफल रुपले सम्पन्न गर्नका लागि सम्बन्धित सबै पक्षलाई उचित मार्गदर्शन मिलोस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको मिश्रले प्रस्ट्याए । सुनिल ठाकुरको सञ्चालन रहेको कार्यक्रममा क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇले, क्षेत्र नं. २ का निर्वाचन अधिकृत लालकाजी श्रेष्ठ, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठ, क्षेत्र नं. ५ का निर्वाचन अधिकृत शंकर बराल, क्षेत्र नं. ६ का निर्वाचन अधिकृत दलबहादुर केसी, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले नजिकिदो बडादशैं, दिपावली, छठ र वकरईद पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत व्यक्त गरेका थिए ।
No comments:
Post a Comment