सहकारीको अनुगमन हुनुपर्ने
सर्लाही समाचारदाता
हरिवन, फागुन १९ । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारी संस्थाको गतिविधिहरु स्वयं शेयर सदस्यले अनुगमन गरी सुदृढ गर्नुपर्ने बताएका छन् ।
सोमबार हरिवनमा भएको सहकारी क्षेत्रमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार न्यौपानेले सहकारी संस्था व्यवस्थापनका लागि सरकारको मुख नताकि स्वयं शेयर सदस्य अग्रसर हुनुपर्ने बताए । सहकारी संस्था शेयर सदस्यबाट चल्ने र चलाउनु पर्ने भएकाले बजारमा सहकारीको विज्ञापन गर्न नपाइने उल्लेख गर्दै सहकारीको सिद्धान्त प्रजातान्त्रिक नियन्त्रण, सुशासन सम्बन्धि निगरानी माथिल्लो निकायमा रहेको उनले जानकारी दिए
कार्यक्रममा डिभिजन सहकारी कार्यालय सर्लाहीका प्रमुख रामलक्षण राय, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का संचालक कृष्ण पौडेल, जिल्ला संघ अध्यक्ष बाबुराम घिमिरेले सहकारी क्षेत्रमा बचत गर्ने बानीले जनताको बचत डुब्न सक्ने खतरालाई तुरुन्त व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा बरहथवा, लालबन्दी, नवलपुर, भक्तिपुर, राजघाट, शंकरपुर, हरिवन लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी शनिबार डिभिजन सहकारी कार्यालयले मलंगवामा सहकारीकर्मीसँगको अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सहकारी संघका केन्द्रिय सदस्य ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सहकारी विभागका रजिष्ट्रार न्यौपानेले नियम कानून कडा पार्दैमा संस्था दिगो नहुने भएकाले संस्था व्यवस्थापनमा स्थानिय स्तरबाट अग्रसर भई सरकारको आसा कम गर्न बताएका थिए ।
गलत नियत भएका सहकारीबाट सहकारी क्षेत्र नै बदनाम हुने भएकाले पछिल्ला कार्य त्यसलाई नियन्त्रण गर्नुपर्ने न्यौपानेले बताए । डिभिजन सहकारी प्रमुख राम लक्षण रायले स्वागत मन्तव्य दिएका कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष पुण्य प्रसाद उपाध्याय, नागरिक समाजका उग्रकान्त झा लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment