साक्षरता कक्षा चलाउने स्वयंसेवक पढ्दै
सर्लाही समाचारदाता
मलंगवा, फागुन १७ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्न लागेको अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान कार्यक्रम अन्तर्गत साक्षरता कक्षामा सञ्चालनका लागि छनौट भएका स्वयंसेवकहरुको तालिम सुरु भएको छ । ११ वटा गविसका २५ हजार नौसय ६१ जनालाई साक्षर बनाउनका लागि एकहजार दुईसय ९८ जना स्वयंसेवकहरु खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
हाल ११ वटै गाविसमा तीन दिनदेखि तालिम सुरु भएको शिक्षा कार्यालयले जनायो । साक्षरता कक्षा सञ्चालनका लागि ५६ वटा विभिन्न गैर सरकारी संघ संस्था छनौट भएका र ती संस्थाहरुले खटाएका स्वयंसेवकहरु लाई तालिम दिइएको जिल्ला शिक्षा कार्यालयका सुनिल कुशवाहाले बताए । शिक्षा कार्यालयका अनुसार गत विहिबारदेखि शुरु भएको स्वयं सेवकहरुको प्रशिक्षण आगामी सोमबार सकिने छ ।
साक्षरता कक्षा भने आगामी मंगलबार अर्थात फागुन २० गतेबाट सुरु गरिने गरि तयारी सुरु गरिएको जिल्ला शिक्षा कार्यालयले जनायो । अघिल्ला वर्षहरुमा पनि यस्ता कक्षाहरु सञ्चालन गरिएको भएपनि प्रभावकारी नभएको गुनासो आएपछि यस वर्ष प्रभावकारी ढंगले कक्षा सञ्चालन गर्न कडा रुपमा अनुगमन गरिने कार्यालयले दावी गरेको छ ।
सर्लाहीलाई निरक्षर मुक्त बनाउने ‘साक्षर सर्लाही अभियान’ अन्तर्गत तत्काल स्रोत केन्द्रहरु सञ्चालन रहेको गडहिया डुमरिया, गोडैता, मलंगवा, बरहथवा, मदनपुर, हरिपुर, हरिपूर्वा, भक्तिपुर, सुखेपोखरी, इश्वरपुर र परवानीपुरमा साक्षरता कक्षा सञ्चालन सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनायो । स्वयंसेवकहरुलाई साक्षरता कक्षा सञ्चालन हुने गाविसहरुमै तालिम दिईएको छ ।
११ गाविसका जम्मा २५ हजार ९ सय ६१ जनालाई साक्षर बनाउने गरी शिक्षा कार्यालयबाट साक्षरता अभियान सुरु हुन लागेको हो । जसमध्ये आवेदन दिएका संस्थाहरु स्वयंले आप्mनो लगानीमा ७ हजार ७ सय ९१ जनालाई साक्षर बनाउनु पर्नेछ । साक्षरता कक्षाका लागि मासिक दुईहजार पाउने गरी जम्मा १ हजार २ सय ९८ जना स्वयं सेवक परिचालन हुने र सम्बन्धित संस्थाहरुले ३ सय ९३ जना स्वयंसेवकहरुको आर्थिक व्ययभार बहन गर्नुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयका अनुसार ३ महिने उक्त साक्षरता अभियान सकिएपछि ११ वटा गाविसलाई निरक्षर मुक्त गाविस घोषणा गरिनेछ र अन्य गाविसमा पनि क्रमशः साक्षरता कक्षा सञ्चालन गरेर सर्लाहीलाई निरक्षर मुक्त जिल्ला बनाईने छ ।
No comments:
Post a Comment