चिताइन मेलामा कृषि प्रदर्शनी सुरु
सर्लाही समाचारदाता
हरिपुर, फागुन १८ । शिवरात्रीका अवसरमा हरेक वर्ष मेला लाग्ने जिल्लाकै प्रसिद्ध हरिपुर गाविस स्थित चिताइनमा आइतबारबाट दुईदिने जिल्ला स्तरीय कृषि तथा उखु मेला प्रदर्शनी समेत सुरु भएको छ ।
प्रदर्शनीमा जिल्ला स्थित विभिन्न स्थानमा कृषकहरुले फलाएका खाद्यान्न सहितका बालीहरु प्रदर्शनीमा राखिएको छ । सामान्यभन्दा केही ठूला साइजका मूला, कोबी, लौका, प्याज, लसुन, फर्सी, उखु, केरा, मेवा, काक्रो, अम्बा, तरुल, कुभिन्डो, गोलभेडा लगायत कृषकद्वारा उत्पादित बस्तुहरु प्रदर्शनीमा राखिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख युगलकिशोर तिवारीले बताए । मह, केराको लोक्ता, माछा लगायत अन्य वस्तुहरु समेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नश्ल जातको उखु तथा उन्नत ढंगले उखु खेती गर्नका लागि प्रयोग हुने उपकरणहरु समेत राखिएको इन्दुशंकर चिनी उद्योगका उखु विकास अधिकृत दिवाकर पौडेलले बताए । कृषकहरुलाई आधुनिक खेती प्रणालीतर्फ प्रोत्साहन गर्नका लागि दुईदिने प्रदर्शनी राखिएको कृषि कार्यालयका प्रमुख तिवारीले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कृषि मेलामा इन्दुशंकर चिनी उद्योग हरिवन, स्वाबलम्बन बजार व्यवस्थापन तथा रोजगार प्रवद्र्धन हरिवन, नेपाल ग्रामिण पूनर्निर्माण संस्था सर्लाही र किसान उत्थान मिश्रित कृषक समूह हरिपुर सहआयोजक रहेका छन् । कृषि प्रमुख तिवारीका अनुसार विभिन्न सात थरी बाली उत्पादनमा उत्कृष्ठ ठहरिने किसानलाई प्रदर्शनीका बीच सोमबार विशेष पुरस्कार समेत प्रदान गरिने छ । खाद्यान्न, दलहन, तरकारी, माछा, च्याउ, उखु, फलफूल उत्पादनमा राम्रो गर्ने किसानलाई ५ सदस्यीय मूल्यांकन समितिले सोमबार नै छनौट गर्ने र उनीहरुलाई पुरस्कार प्रदान गरिने तिवारीले बताए ।
प्रदर्शनी स्थलमै आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्र नं. २ बाट निर्वाचित सभासद् रामचन्द्र चौधरीले किसानको हकहितका लागि संसदमा आवाज उठाइने प्रतिबद्धता जनाए । कृषि प्रमुख युगलकिशोर तिवारीको सभापतित्वमा भएको कार्यक्रममा सभासद् कमलादेवी महतो, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, इन्दु शंकर चिनी उद्योगका उखु विकास अधिकृत दिवाकर पौडेल, स्वाबलम्बन बजार व्यवस्थापन तथा रोजगार प्रवद्र्धन हरिवनका हरि थापा लगायतले कृषि क्षेत्रको विकास एवं हितका लागि राज्यले उचित ध्यान दिनुपर्ने माग गरे ।
त्यसैगरी सोही अवसरमा स्थानीय कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment