‘उखु किसानलाई सरकारले हेरेन’
सर्लाही समाचारदाता
हरिपुर, फागुन १८ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले उखु कृषकको उत्थानमा सरकारले कुनै ध्यान नदिएको बताएका छन् ।
आइतबार हरिपुरमा सुरु भएको कृषि तथा उखु प्रदर्शनी मेलामा आयोजित एक समारोहमा बोल्दै अध्यक्ष मैनालीले नेपालमा मुख्य नगदे बालीको रुपमा उत्पादन भएपनि उखुलाई राष्ट्रिय बालीको रुपमा घोषणा नगरेको बताए । ‘‘नेपालको अर्थतन्त्रमा उखुले पनि ठूलै टेवा पु¥याएको छ ।’’ उनले भने–‘‘तर सरकारले उखु उत्पादन र उत्पादित किसानको उखु मूल्यमा कुनै ध्यान दिएको छैन ।’’
उनले चिनी उद्योगीले सँधै किसानको लागत समेत नउठ्ने गरी उखुको मूल्य तय गर्ने गरेको र सरकारले कुनै ध्यान नदिएको आरोप लगाए । ‘‘राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने गरी उत्पादन गरेको उखुको उचित मूल्य पाउन किसानले हरेकवर्ष जसो आन्दोलन गर्नु परिरहेको छ र प्रहरीको गोली, कप्mर्यू जस्ता चुनौतीको पनि सामना गर्नु परिरहेको छ ।’’ उनले गुनासो गरे–‘‘सरकारले उचित ध्यान दिएर उखु खेती एवं उत्पादन गर्ने किसानको उत्थानमा कुनै सुनुवाई गरेन ।’’ यसवर्ष पनि उखुको मूल्य तय गर्ने विषयमा चौथो चरणको वार्ताबाट पनि उद्योगपतिसँग कुरा नमिलेपछि सरकारलाई मध्यस्थताका लागि आग्रह गरिएको मैनालीले बताए । उद्योगपतिहरुले भने मध्यस्थता गर्न आग्रह गरेको पत्रमै मूल्य नै तोकेर सोभन्दा नबढाउने गरि उल्लेख गरेर सरकारलाई प्रभावमा पार्ने षडयन्त्र रचेको मैनालीले आरोप लगाए । सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सर्लाही नेपालमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो ।
No comments:
Post a Comment