सर्लाही समाचारदाता
हरिवन, असोज २२ । प्रथम हरिवन गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक न्यू हरिवन युवा क्लब रातोले विराट सिटी क्लब मोरङलाई २–० ले पराजीत गरेको छ ।
हरिवनको सुखेपोखरी मा भएको खेलमा राष्ट्रिय टोलीका प्रमुख स्ट्राइकर जुमानु राई एक्लैले गरेको दुई गोल मद्धतले आयोजक टिम प्रथम उपाधी नजिक पुगेको हो । जर्सी नम्बर ११ का राईले खेल सुरु भएको ६ मिनेटमै गोलको खाता खोलेका थिए भने ४३औ मिनेटमा पुन दोस्रो गोल गर्दै टिमको जीत सुनिश्चित गरेका थिए ।
हरिवन निवासी राईले आÇनो गाउँमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधीको हकदारको रुपमा उभ्याउन सफल भए । विराटनगरका अग्रपंक्तिका खेलाडीले खेल बराबरीका लागि गरेको अथक प्रयास हरिवनका रक्षापंक्तीका खेलाडीले विफल पारेका कारण सफल हुन पाएन ।
१ लाख नगद सहित शिल्ड र प्रमाण–पत्र प्रदान गरिने प्रथम उपाधीका लागि आगामी विहिबार हुने फाइनल प्रतिस्पर्धामा न्यू हरिवन युवा क्लबको ब्वाइज युनियन युवा क्लब काठमाण्डौसँग भिडन्त हुने भएको छ । दोस्रो हुने टिमलाई भने ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । ब्वाईज युनियनले सोमबार भएको पहिलो सेमिफाईनलमा काठमाण्डौकै सिम्रिक सरस्वती युवा क्लबलाई हराउदै फाईनल प्रतिस्पर्धाको सिट सुरक्षीत गरेको थियो । बुधबार भने सर्लाही–११ र रौतहट–११ महिला टिमबीच मैत्रिपूर्ण खेल राखिएको आयोजक क्लबका सचिव राजेश चौधरीले बताए । महिला टोलीको खेल हेर्नका लागि भने दर्शकहरुसँग टिकट वापत २५ रुपैया लिईने आयोजक क्लबले जनाएको छ ।
खेल सुरु हुनुअघि हरिवनको तर्फबाट अघिल्लो खेल खेलेका राष्ट्रिय खेलाडी सुमन सुवेदीका पिताको मंगलबार नै देहान्त भएकाले १ मिनेट मौनधारण समेत गरिएको आयोजक क्लबका अध्यक्ष निरोज कार्कीले जानकारी दिए ।
No comments:
Post a Comment