‘सिडिओ, डिएफओ मिलाएको धम्की दिन्छन् रेञ्जर’
सर्लाही समाचारदाता
जानकीनगर, असोज २१ । वनको रक्षा गर्ने जिम्मेवारी पाएका सरकारी अधिकृत स्वयंलाई काठ तस्करी गर्दागर्दै दुईचोटी समातेर प्रमाण सहित बुझाउँदा पनि उचित कार्वाही नभएको जानकीनगर गाविस स्थित प्रस्तावीत देउराली सामुदायिक वनका उपभोक्ताहरुले गुनासो गरेका छन् । जिल्ला वन कार्यालय अन्तर्गत जानकीनगर रेञ्जपोष्टका प्रमुख रेञ्जर रणधीर झालाई दुई–दुईचोटी सामुदायिक वन भित्रको काठ तस्करी गरेको उजुरी गरिएपनि कार्वाही नभएको प्रस्तावित देउराली सामुदायिक वनका अध्यक्ष मुंगालाल पाख्रीनले गुनासो गरे ।‘‘पहिला सामुदायिक वन क्षेत्र भित्रको काठ काटेर बाहिर लैजान लाग्दै गर्दा रंगेहात पक्राउ गरेर इलाका वन कार्यालय मुर्तियामा बुझाउँदा पनि केही कार्वाही भएन, अहिले फेरी वन क्षेत्र भित्रकै सालको टुना रातारात विक्री गरेर अन्तै पठाउँदा पनि कुनै कार्वाही भएन ।’’ पाख्रीनले भने–‘‘अहिले त उल्टै ५–७ दिनमा गाउँमा आएर ‘मैले सिडिओ, डिएफओ सबै मिलाईसके, तिमिहरुले केही गर्न सक्दैनौ’ भन्दै रेञ्जरले धम्की दिन थालेका छन् ।’’
गत भदौ ४ गते वन क्षेत्र भित्र लडेको सालको रुख टुना पारेर जिल्ला वन कार्यालयमा लैजाने भनेर झुक्याई रेञ्जर झाले उक्त काठका टुनाहरु विक्रीका लागि पिडारीतर्फ पठाएको सामुदायिक वनका अध्यक्ष पाख्रीनले दावी गरे । पाख्रीनका अनुसार सालको रुखलाई दिनभर काटेर ८ वटा टुना पारिएको थियो । जसमध्ये साँझसम्म ५ वटा टुना जानकीनगर रेञ्जपोष्ट कार्यालय नजिक राखिएपनि बाँकी ३ वटा सिडियो........
टुना भने जंगलमै रहेको थियो । राती ट्रयाक्टरमा काठ पिडारीतर्पm लगिएको गाउँलेहरुले बताएपछि खोज्दै जाँदा वनमा रहेको ३ वटा टुना राती ९ बजेतिर पिडारीमा फेला परेको पाख्रीनले बताए । उक्त काठ काट्ने, घाटगद्धि गर्ने लगायत सबै कामको जिम्मेवारी रेञ्जर झाकै थियो । रेञ्जर झाकै मिलेमतोमा उक्त काठहरु विक्रीका लागि पिडारी पु¥याईएको उपभोक्ता समितिका सचिव रामश्रेष्ठ यादवले दावी गरे ।
सचिव यादवका अनुसार काठ फेला परेको भोलीपल्टै जिल्ला प्रशासन कार्यालय मलंगवामा रेञ्जर झा विरुद्ध उजुरी हालिएको थियो । तर उजुरी हालिएको डेढ महिना वितिसक्दा पनि रेञ्जरमाथि कार्वाही त परैजाओस् उल्टै उनी गाउँतिर धम्की दिदै हिड्न थालेपछि उपभोक्ताहरु निरास बनेका छन् । ‘‘सरकारी तलब खाएर बसेका वन अधिकृतहरु नै काठ तस्करीमा संलग्न हुन्छन् ।’’ समितिका अध्यक्ष पाख्रीनले निरासा व्यक्त गरे–‘‘गलत गर्ने त्यस्ता कर्मचारीलाई केही कार्वाही हुँदैन, हामीले मात्र रातदिन खटेर कतिदिन वनका रुखहरु जोगाउँनु ?’’
पिडारीमा फेला परेको काठको टुना र देउराली सामुदायिक वन क्षेत्र भित्रको रहेको त्यसको जराको साईज मिलाई छानवीन गर्न समेत अध्यक्ष पाख्रीनले माग गरे । ‘‘उजुरी दिएपछि हामी ५–७ जनालाई जिल्ला प्रशासन कार्यालयमा बयान लिने काम गरियो ।’’ पाख्रीनले भने–‘‘त्यतिखेर सिडिओ साहेबले ७ दिनभित्र घटनास्थलमा हेरेर कार्वाही प्रकृया अगाडी बढाउँछु भन्नु भएको थियो, तर डेढ महिना वितिसक्यो केही भएजस्तो लाग्दैन ।’’ कतैबाट केही कार्वाही नभए अब गाउँलेले आÇनै हिसाबले रेञ्जर झालाई कार्वाही गर्ने मनस्थिती बनाएको अध्यक्ष पाख्रीनले बताए । पिडारीमा फेला पारिएको सालका टुना राती नै इलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको पाख्रीनले बताए । हाल उक्त काठ जिल्ला वन कार्यालय लालबन्दीमा राखिएको छ ।
रेञ्जर झालाई गत माघ ११ गतेपनि सोही सामुदायिक वनका उपभोक्ताहरुले वन क्षेत्रको करमको रुख टुना पारेर टायरगाढामा राखी विक्रीका लागि लैजान लाग्दा लाग्दै रंगेहात पक्राउ गरेका थिए । उक्त सामुदायिक वनका उपभोक्ता रामजी शाहीका अनुसार विधान दर्ता भईसकेको सामुदायिक वन भएपनि रेञ्जर झाले उपभोक्ता समितिका पदाधिकारीलाई खबरै नगरी करमको रुख ढालेर टुना पारेको र टायरगाढामा हालेर गाउँ बाहिर लैजान लाग्दा उनलाई काठसहित समातिएको थियो । बरामद् काठ इलाका वन कार्यालय मुर्तिया र रेञ्जर झालाई इलाका प्रहरी कार्यालय हरिपुर बुझाईए पनि कुनै कार्वाही नभएको समितिका अध्यक्ष पाख्रीनले गुनासो गरे । ‘‘डिएफओ साहेबकोमा जाँदा पहिला कार्वाही भएन भनेर यसपटक सिडिओ साहेबकोमा गुहार माग्यौं ।’’ अध्यक्ष पाख्रीनले भने–‘‘तर त्यहाँ पनि कुनै सुनुवाई भएको जस्तो लाग्दैन, रेञ्जर झा छाती फुलाएर गाउँमै हिड्छन् ।’’
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सिताराम पोखरेलले वन क्षेत्रको संरक्षणमा सरकारी रासनपानी खाने कर्मचारी नै पटक–पटक काठ तस्करी गर्दा गर्दै पक्राउ पर्दा समेत कुनै कार्वाही नहुनु दुःखद भएको बताए । ‘‘सरकारी रक्षक नै भक्षक हुँदा वन क्षेत्रको संरक्षण गर्दै आईरहेका उपभोक्ताहरुमा निरासा पैदा भएको छ ।’’ पोखरेलले भने–‘‘उजुरी उपर यथाशिघ्र छानवीन गरी दोषिमाथि कडा कानूनी कार्वाही हुनुपर्छ ।’’
जिल्ला वन अधिकृत रामपृत मौर्यले रेञ्जर झाको कार्वाही प्रकृया जिल्ला प्रशासन कार्यालयबाट चलिरहेकाले आफूले केही भन्न नमिल्ने बताए । ‘‘जिल्ला प्रशासनले उपस्थित गराउन लिखित पत्र आएपछि रेञ्जर झालाई प्रशासन पठाएको थिएँ ।’’ जिल्ला वन अधिकृत मौर्यले भने–‘‘अहिले केही दिनदेखि जिल्ला वन कार्यालयमै हाँजिर गराएर राखिएको छ ।’’
प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले रेञ्जर झा विरुद्ध कार्वाही प्रकृया अगाडी बढिरहेको बताए । ‘‘रेञ्जरसँग बयान लिने काम भईरहेको छ ।’’ प्रजिअ घिमिरेले सोमबार सर्लाही दैनिकसँग भने–‘‘छानवीन प्रकृया अगाडी बढिरहेको छ, यथाशक्य छानवीन गरी टुंगोमा पुग्ने प्रयास भईरहेको छ ।’’
No comments:
Post a Comment