परिवारकै रहस्यमय मृत्यु ः गाउँ शोकाकुल
मृत फेला परेका महत परिवार । (तस्वीर ः मृतक महतको फेसबुक पेजबाट) |
हरिवन, फागुन १६ । डिभी परेर अमेरिका जाने तयारीमा काठमाण्डौ पुगेका हरिवनका एकै परिवारका तीन सदस्य रहस्यमय अवस्थामा मृत फेला परेका छन् । हरिवन गाविस–४, दनुवारी निवासी ३५ वर्षिया श्यामध्वज महतका परिवारनै शुक्रबार विहान आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । महत, उनकी श्रीमती सुनिता कार्की (महत) र ४ वर्षिया छोरी नानुको रहस्यमय मृत फेला परेको समाचारसँगै दनुवारी गाउँ शोकाकुल बनेको छ ।
अमेरिका जाने प्रक्रियाका लागि अन्तर्वार्ता दिन महत परिवार दुई साताअघि काठमाडौं गएको थियो । भक्तपुरको मध्यपुर नगरपालिका–१७, मगरगाउँस्थित श्यामध्वजका ससुरा रणबहादुर कार्कीको घरमा तीनैजना मृत फेला परेका हुन् । सुनिता र नानु खाटमा सुतिरहेको अवस्थामा र श्याम ढोकाको माथिल्लोमा भागमा रहेको भेन्टिलेसनको ग्रीलमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
डेढ तल्ले घरको एउटा कोठामा महत परिवार र सँगैको अर्काे कोठामा मृतक सुनिताका भाई नविन कार्की सुतेका थिए । छतमा रहेको एउटा कोठा भाडामा लगाइएको छ । तर नविन र भाडामा बसेका कसैले पनि रातिको घटना थाहा नपाएको बताए । नविनले शुक्रबार बिहान कलेज जाने बेलामा भिनाजु ढोका झुण्डिएको अवस्थामा देखेको बताइएको छ ।
६ फिट उचाईका महत ५ फिट ११ इन्च उचाईको ढोकाको ग्रीलमा सल लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको घुडाले भूई छोएको छ । त्यस्तै उनले लगाएको लुगामा माटो लागेको देखिन्छ । उनको मोवाइल र एकसय ५० रुपैया पनि गेट छेउमा भेटिएको थियो । बिहीबार राती साढे एघारबजेसम्म सुनिताका भाई नविनसँग सबै जना सँगै बसेर दिउँसो खिचेको तस्बिरहरु हेरेपछि उनीहरु सुतेका थिए । ‘‘हिजो बिहीबार पाँच बजेतिर सानोठिमी क्याम्पस क्षेत्रमा घुमेको र केही दिन अघि चिडियाखानामा खिचेको फोटो हेर्दा साँढे एघार बजेको थियो ।’’ इकान्तिपुरमा प्रकाशित समाचार अनुसार नविनले भनेका छन्–‘‘फोटो हेर्दा बेला–बेलामा सोमबार हुने अन्र्तवार्ताको पनि प्रसंग आउँथ्यो । एक जनाको परिचय अर्काेलाई थाहा नहोला भनेर छलफल समेत हुन्थ्यो ।’’ शिवरात्री भए पनि शुक्रबार मेडिकल गर्ने भएकाले मदिरा सेवन नगरेको नविनले बताए ।
शुक्रबार (फागुन १६ गते) स्वास्थ्य परीक्षण र सोमबार (फागुन १९ गते) अन्तिम अन्तरवार्ता तय भएकाले परिवार नै काठमाडौंतर्फ लागेको थियो । परिवारका अन्य सदस्यका अनुसार मृतक महतले मेडिकल जाँचका लागि ६० हजार रुपैया समेत बुझाइसकेका थिए ।
प्रहरीका अनुसार खाटमा सुतेको अवस्थामा रहेका आमा छोरीको घाटीमा निलडाम देखिएको छ । तर उनीहरुको घाँटीमा केही वस्तु थिएनन् । प्रहरीले प्रारम्भिक अध्ययनका आधारमा श्रीमती र छोरीको हत्यापछि महतले आत्महत्या गरेको अनुमान गरेको छ । अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्रै थप प्रष्ट हुने पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिता र श्याम दुबैको अनुहारमा नङले चिथोरेको घाउ छ । घटनास्थलमा अनुसन्धानका लागि भक्तपुरका प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोली खटिएको थियो । त्यस्तै शिक्षण अस्पतालमा पोष्टमार्टममा खटिने चिकित्सक पनि घटनास्थल अवलोकन गर्न आएका थिए ।
‘‘मेरो डे्र«स दिदी भिनाजु सुतेको कोठामा थियो ।’’ इकान्तिपुरमा प्रकाशित समाचार अनुसार नविनले भनेका छन्–‘‘ढोकामा कालो देखेँ, हलचल गरेन । अनि भाडामा बसेकी आन्टीलाई टर्च मागेर हेर्दा त भिनाजु झुण्डिएको देखेँ ।’’ उनको कोठामा छिर्ने दुई ढोका मध्ये महत झुण्डिएको ढोका सधै बन्द हुन्छ । माथिल्लो तलामा भाडामा बसेकी देवी भण्डारीले राती एक बजे बच्चा कराएको सुनेको बताइन् । ‘‘मामुलाई त्यसो नगरिस्यो न भनेर तीन पटक बच्चा कराएको सुनेँ ।’’ इकान्तिपुरमा प्रकाशित समाचारमा भण्डारीले भनेकी छिन्–‘‘त्यसपछि केही सुनिनँ ।’’
आर्थिक हैसियत राम्रै भएका र विदेश जाने तयारीमा रहेकाले श्यामले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न नसक्ने आफन्तहरु बताउछन् । ‘‘श्रीमती र छोरीलाई मारेर आफू मर्नुपर्ने अवस्थाको व्यक्ति होइन ।’’ मृतकका साँढुदाई नाता पर्ने नरबहादुर भण्डारीले भने–‘‘सुनियोजित हो कि भन्ने शंंका छ ।’’ श्यामको परिवारमा कुनै विवाद नभएको पनि उनले बताए ।
मृतक महतका छिमेकी झनक उप्रेतीले महतको परिवारकै मृत्युको खबरले गाउँ नै शोकमग्न बनेको बताए । ‘‘हामीलाई त अझैपनि विश्वास नै लागेको छैन ।’’ शुक्रबार सर्लाही दैनिकसँग उप्रेतीले भने–‘‘श्रीमती र छोरीको हत्या गरेर आफू आत्महत्या गर्ने कुनै कारण थिएन र त्यस्तो गर्छन् भन्ने पनि कुनै विश्वास छैन ।’’ घटना शंकास्पद भएकाले निश्पक्ष रुपमा छानवीन हुनुपर्ने समेत उप्रेतीले माग गरे । मिलनसार र मृदुभाषी रहेका महतको परिवारमा कुनै झै–झगडा भएको समेत थाहा नभएको उनले बताए ।
हरिवन गाविस–४ निवासी कृष्णबहादुर महतका चार भाई छोरा मध्ये मृतक श्यामध्वज माइला हुन् । उनकी श्रीमती सुनिताको माईती सर्लाहीकै मूर्तिया हो । सुनिता हरिवन बजार स्थित न्यू हरिवन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत समेत थिइन् । घटनाबारे थाहा हुनेवितिकै मृतक श्यामध्वजका बुबाआमा सहित परिवारका सम्पूर्ण सदस्यहरु शुक्रबार विहानै त्यसतर्फ लागेका छन् ।
No comments:
Post a Comment