Tuesday, December 17, 2013

राष्ट्रिय ९ घण्टा ः सर्लाहीमा १२ घण्टा

विद्युत लोडसेडिङ्
राष्ट्रिय ९ घण्टा ः सर्लाहीमा १२ घण्टा
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, पुस २ । नेपाल विद्युत प्राधिकरणले विद्युत लोडसेडिङको समय बढाएर राष्ट्रव्यापी रुपमा मंगलबारदेखि दैनिक ९ घण्टा पु¥याएको छ । पानीको सतह घटेसँगै विद्युत उत्पादन घटन थालेकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले राष्ट्रव्यापी रुपमा दैनिक ९ घण्टा अर्थात सातामा ६३ घण्टा लोडसेडिङ् तोकेको भएपनि सर्लाहीका उपभोक्ताले भने दैनिक कम्तिमा १२ घण्टा र सातामा कम्तिमा ८४ घण्टा विद्युत विहिन बन्नुपर्ने छ ।
प्राधिकरणले मंगलबार देखि लागू गरेको लोडसेडिङ तालिका अनुसार सर्लाहीमा आइतबारदेखि शुक्रबारसम्म ३–३ घण्टाको दरले तीनपटक तथा शनिबार दुईपटकमा गरी दैनिक ९ घण्टा विद्युत कटौती हुनेछ । तर राष्ट्रव्यापी तालिकाबाहेक पनि सर्लाहीका उपभोक्ताले दिनमा कम्तिमा थप ३ घण्टा (बढीमा जतिपनि) लोडसेडिङ व्यहोर्नुपर्ने छ ।
विद्युत चुहावटका प्रतिशतका आधारमा प्राधिकरणले आन्तरिक रुपमा थप गर्ने लोडसेडिङ र ढल्केबर सबस्टेशन लामो समयदेखि विग्रीएका कारण सदरमुकाम मलंगवालाई समेत चन्द्रनिगाहपुर सबस्टेशनबाटै विद्युत आपूर्ती गर्नुपर्दा थप लोडसेडिङको मार उपभोक्ताले सहनु परेको हो । ४० प्रतिशत भन्दा बढी चुहावट देखिएकाले हाल दैनिक २ घण्टा अतिरिक्त कटौती हुँदै आएको छ ।
नयाँ तालिका अनुसार आइतबारदेखि शुक्रबारसम्म पहिलो र दोस्रो तालिका तथा शनिबार दुईवटै तालिकामा थप एक घण्टा कटौती हुने चन्द्रनिगाहपुर सबस्टेशनले जनायो । प्राधिकरणले ४० देखि ५० प्रतिशत विच चुहावट देखिएका फिडरमा थप दुईघण्टा, ५० देखि ६० प्रतिशत विचमा ३ घण्टा र ६० प्रतिशत भन्दा बढी चुहावट देखिएका फिडरमा थप ४ घण्टा आन्तरिक लोडसेडिङ गर्दै आएको छ । सर्लाहीमा हाल थप दुईघण्टा लोडसेडिङ रहेको छ ।
त्यस्तै गत असार २९ गते जलेको ढल्केबर सबस्टेशनको पावर ट्रान्सफर्मर हालसम्म पनि नबनेका कारण सर्लाहीबासीले त्यसवापत पनि थप दैनिक कम्तिमा १ घण्टा लोडसेडिङको मार व्यहोर्नुपर्ने हुन्छ । चन्द्रनिगाहपुर सबश्टेशनबाटै हरिपुर र मलंगवा सबस्टेशनमा विद्युत सुचारु गर्नुपर्दा समस्या भएको हो । पहिला ढल्केबर सबस्टेशनबाट मलंगवा स्थित सबस्टेशन एवं चन्द्रनिगाहपुरबाट हरिपुर सबस्टेशनमा विद्युत सुचारु हुने गर्दथ्यो ।
‘‘गत असार २९ गते ढल्केबर सबस्टेशन स्थित पावर ट्रान्सफर्मर जलेको र उक्त ट्रान्सफर्मर हालसम्म पनि नबनेकाले बढी समस्या भईरहेको छ ।’’ नेपाल विद्युत प्राधिकरण सर्लाही प्रमुख दिपेन्द्रराज द्विवेदीले भने–‘‘जिल्लाको सदरमुकाम लगायत आधा भागमा विद्युत सुचारु हुने ढल्केबरको ट्रान्सफर्मर नै जलेपछि चन्द्रनिगाहपुर सबस्टेशनबाट आउने विद्युतलाई बाँडेर सबैतिर वितरण गर्ने गरिएको छ, जसले गर्दा लोडसेडिङको समय बाहेक पनि पटक–पटक कट्ने समस्या देखिएको हो ।’’ साँझ ५ बजेदेखि राती ११ बजेसम्म २१ एमभिए तथा अन्य समयमा १७.६३ एमभिए विद्युत चाहिनेमा चपुरबाट भने सबै समयमा १४ एमभिए मात्र विद्युत आउने गरेकाले बढी समस्या भईरहेको प्रमुख द्विवेद्वीको कथन छ । ‘‘साँझ ५ बजेदेखि राती ११ बजेसम्मको पिक आवरमा हरिपुर र मलंगवाको ६ वटा फिडर मध्ये ३ वटा मात्र चल्छ भने अन्य समयमा ५ वटा भन्दा बढी चल्दैन ।’’ द्विवेद्वीले भने–‘‘त्यसैले पालैपालो फिडर चलाउनु परेकाले पटक–पटक विद्युत कटौती भएको हो ।’’
जसअनुसार हरिपुर सबस्टेशन अन्तर्गत लालबन्दी, बरहथवा र पचकछिया फिडर मध्ये विद्युत भएको समयमा एक–एक घण्टाको दरले पालैपालो फिडर झार्ने गरिएको छ भने मलंगवा सबस्टेशन अन्तर्गत मलंगवा, कौडेना र ग्रामीण फिडर मध्ये एक–एक घण्टाको दरले फिडर झार्ने गरिन्छ । सबै फिडरहरु एकसाथ चल्नका लागि नधान्ने भएका कारण सामान्य अवस्थामा दुईवटै सबस्टेशनका २–२ वटा तथा बढी खपत हुने (साँझ) समयमा एउटा मात्र फिडर समेत चलाउने गरिएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । जसले गर्दा चुहावटका कारण हुने दुईघण्टा थपमा ढल्केबरको सबस्टेशनबाट विद्युत नआएका कारण थप १ देखि २ घण्टा विद्युत कटौती हुने गर्दछ ।
ढल्केबरको ट्रान्सफर्मर बन्नका लागि अझै कतिसमय लाग्छ भन्ने कुरा विद्युत प्राधिकरण सर्लाहीका प्रमुख द्विवेदीलाई समेत थाहा छैन । ‘‘खै ढल्केबरबाट उठाएर लगिसकेको छ, तर बन्ने कुराबारेमा अहिलेसम्म केही खबर आएको छैन ।’’ उनले मंगलबार सर्लाही दैनिकसँग भने–‘‘माथिल्लो निकायमा समस्या राखेको राख्यै छु ।’’ प्राधिकरणले क्रमशः लोडसेडिङको समय बढाउँदै लैजाने हुँदा ढल्केबरको ट्रान्सफर्मर नबनेमा भविष्यमा सर्लाहीमा दैनिक लोडसेडिङको समय २० घण्टासम्म हुन सक्ने देखिएको छ । सर्लाहीमा त साँझ परेपछि अनियन्त्रित रुपमा विद्युत कटौती हुने परम्परा त झन नौलो कुरै भएन । ‘‘अब त दिनमा तीन पटक लाईन जानेभएपछि विजुली देख्नै गाह्रो भएको छ ।’’ परिचर्चा अफसेट प्रेस हरिवनका सञ्चालक नारायण दाहालले चिन्ता व्यक्त गरे–‘‘जेनेरेटरको विकल्प छैन, कतिञ्जेल यसरी थेग्नु ?’’
‘दुहुनो गाई’ बनेर महिना वित्ने वितिकै खनखन महसुल बुझाउने उपभोक्तालाई विद्युत प्राधिकरणले यो वा त्यो बहानामा अनियन्त्रित विद्युत कटौतीको मार खेपाउनु हदैसम्मको गैर जिम्मेवारी एवं लापरवाही भएको गुनासो बढ्दै गएको छ । प्रभावकारी अनुगमन गर्दै विद्युत चोरी गर्नेहरुमाथि कडा कार्वाही गर्नुपर्नेमा विद्युत प्राधिकरणले आम जिल्लाबासी उपभोक्तालाई नै चुहावट वापतको लोडसेडिङको मार सहन बाध्य पारिदा इमान्दार ग्राहकहरुमा आक्रोश बढ्दै गएको छ । हाल जिल्लामा प्राधिकरणको ५२ हजार हाराहारीमा ग्राहक संख्या रहेका छन् भने लाखौं जिल्लाबासीले विद्युतको उपयोग गर्दै आईरहेका छन् । केही गाविसबाहेक र कतिपय गाविसका केही भूभाग बाहेक सर्लाहीका सबै स्थानमा विद्युतीकरण भईसकेकाले अधिकांश जिल्लाबासीहरु थप लोडसेडिङको मारबाट गुज्रन बाध्य भईरहेका छन् ।

No comments:

Post a Comment