चिनी उद्योग सञ्चालन गर्न किसानको माग
शशी देवकोटा÷सर्लाही दैनिक
हरिवन, पुस ७ । चिनी उद्योग तत्काल सञ्चालनको माग गर्दै स्थानीय किसानहरुले हरिवन स्थित इन्दु शंकर चिनी उद्योगमा आइतबार ज्ञापन पत्र बुझाएका छन् । उखुको मूल्य तत्काल तय नहुने अवस्था भएमा उद्योग भने अविलम्ब सञ्चालनमा ल्याउनुपर्ने माग सहित उनहिरुले ज्ञापनपत्र बुझाएका हुन् । चालु सिजन (यसवर्ष) का लागि उखुको मूल्य गतवर्षको भन्दा पनि कम भने कुनैपनि हालतमा मान्य नहुने किसानहरुले उद्योगमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
उखु किसान सम्बद्ध चार संगठनहरु उखु उत्पादक संघ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण केन्द्र र उखु विकास समितिको संयुक्त टोलीले ज्ञापन पत्र बुझाएको हो । शनिबार हरिवनमा भएको किसानहरुको वृहद् भेलाको निर्णय उदृत गर्दै चार संगठनहरुले औपचारिक रुपमा इन्दु शंकर चिनी उद्योगमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ईन्दुशंकर चिनि उद्योगका उखु प्रवन्धक योगनारायण रजकमार्फत उद्योगको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा चालु सिजनका मीलगेट क्षेत्रको उखुको न्यूनतम मूल्य चार सय ८१ रुपैयाँ प्रतिक्विन्टल भन्दा कम निर्धारण हुन नहुने, तत्काल मूल्य निर्धारण नभए उखुको शुन्य मूल्य निर्धारण गरी उद्योग तत्काल संचालन गरिनु पर्ने र दुईवटै माग पुरा नभए सडक संघर्षमा जाने चेतावनी समेत दिईएको छ ।
चालु क्रसिंग सिजनका लागि उखुको मूल्य निर्धारण गर्न किसान प्रतिनिधि र चिनी उत्पादक संघबीच दुई चरणमा काठमाडौ र हेटौडामा भएको बार्ता बिनानिष्कर्ण टुंगिएको छ । उद्योगपतिहरुले गतवर्षको भन्दा पनि कम मूल्य दिने र किसान प्रतिनिधिले गतवर्षको भन्दा कममा उखु नदिने आ–आÇनो अडान राखेका कारण मूल्यका विषयमा सहमति हुन सकेको छैन । गतवर्ष किसानले प्रति क्वीन्टल ४ सय ८१ रुपैया पाएका थिए ।
उद्योगीहरुले चिनीको मूल्य घटेकाले उखुको मूल्य पनि घटाउनुपर्ने तथा किसान प्रतिनिधिहरुले भने उखुको उत्पादन लागत मात्र नभई हरेक उपभोग्य सामानको समेत मूल्य वृद्धि भएकाले उखुको मूल्यमा पनि सोही अनुपातमा वृद्धि हुनुपर्ने माग राख्दै आएका छन् । उद्योगपति र किसान प्रतिनिधिबीच कुरा मिल्न नसक्दा पुसको पहिलो साता वितिसक्दा समेत उद्योग सञ्चालन त परैजाओस् मूल्य नै तय हुन सकेको छैन । गतवर्ष पुस ३ गते चिनी उद्योगहरु सञ्चालनमा आएका थिए ।
विगत वर्षहरुमा पनि उखुको मूल्य उद्योग सञ्चालन भईसकेपछि समेत दुईपक्षीय सहमतिबाट टुंगीएकाले तत्काल उद्योग सञ्चालन गरेर मूल्यका विषयमा पछि सहमति गर्न आफूहरुले आग्रह गर्दा पनि उद्योगपतिहरुले नमानेको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । ‘‘उद्योगपतिहरुले उद्योग सञ्चालनमा ढिलाई गरेर किसानलाई अत्याउने र त्यसको फाईदा स्वरुप मूल्य घटाउने प्रपञ्च रचेको जस्तो देखियो ।’’ उनले भने–‘‘गतवर्षको भन्दा पनि कममा हामी कुनैपनि हालतमा मान्दैनौं र तत्काल उद्योग सञ्चालन हुनुपर्छ ।’’
यसवर्ष पुस पहिलो साता वित्दा समेत चिनी उद्योगहरु सञ्चालनमा नआउँदा किसानहरु चिन्तित बनेका छन् । तीनवर्षे खुट्टी (उल्टाउनुपर्ने) उखु काट्नका लागि ढिला भईसकेको किसानहरुले बताएका छन् । तीनवर्षे उखु काट्न ढिलाई हुँदा खेतमै सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।
No comments:
Post a Comment