Sunday, December 29, 2013

धाँधली विरुद्ध जवाफ दिन लर्को

धाँधली विरुद्ध जवाफ दिन लर्को
सर्लाही समाचारदाता
मलंगवा, पुस ११ । क्षेत्र नं. ६ मा धाँधली भएको भन्दै संविधान सभा अदालतमा परेको उजुरी उपर जवाफ दिन जिल्ला न्यायाधिश सहित सुरक्षा अधिकारी एवं सम्बन्धित कार्यालयका प्रमुखहरु काठमाण्डौतर्फ लागेका छन् ।
निर्वाचनका क्रममा ६ नं. क्षेत्रको निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका जिल्ला न्यायाधिश दलबहादुर केसी, प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर धानुक, जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारी लगायत अन्य सम्बन्धित निकायका प्रमुखहरु उजुरीउपर जवाफ पेश गर्न काठमाण्डौ गएका हुन् ।
संविधान सभा सदस्यको निर्वाचन २०७० मा तराई मधेश सद्भावना पार्टीको तर्फबाट क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायले निर्वाचनमा धाँधली भएको दावी सहित उक्त निर्वाचन बदरको माग राखेर गत मंसिर २४ गते उजुरी हालेका थिए । रायले ६ नं. क्षेत्रमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेद्वार डा. अमरेशकुमार सिंह, निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय मलंगवा, मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खैर्वा स्थित अस्थायी क्याम्प तथा त्यसका प्रमुख लगायतलाई विपक्षी बनाएर निर्वाचनमा धाँधली गरेको भन्दै उजुरी हालेका थिए ।
उजुरीका विपक्षी निकायहरुलाई जवाफ पठाउन भन्दै संविधान सभा अदालतले पठाएको पत्र गत साता जिल्लाका सम्बन्धित निकायहरुमा आईपुगेको थियो । उक्त क्षेत्रबाट विजयी घोषणा भईसकेका र विपक्षी बनाईएका नेपाली कांग्रेसका उम्मेद्वार डा. अमरेशकुमार सिंह बाहेक सम्पूर्णलाई संविधान सभा अदालतको पत्र बुझाइसकिएको जिल्ला अदालत स्रोतले बतायो । अदालतको पत्रमा विपक्षी बनाईएकाहरुलाई पत्र बुझेको मितिदेखि बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न र १० दिनभित्र आफै उपस्थित हुन आदेश दिईएको छ ।
उजुरीकर्ता रायले नेपाली कांग्रेसका उम्मेद्वार सिंहले निर्वाचनका क्रममा मतदानको दिन मतदाताहरुलाई कुटपीट एवं गोली प्रहार गरि घाईते बनाईएको र विभिन्न मतदान केन्द्र कब्जामा लिएर  मतपत्रमा एकतर्फी छपाई गरेको दावी गर्दै उजुरी हालेका हुन् । उक्त कार्यमा सहयोग पु¥याएको दावी गर्दै उनले विभिन्न सरकारी एवं आयोग सम्बद्ध निकायलाई पनि विपक्षी बनाएका हुन् ।

No comments:

Post a Comment