समानुपातिक सभासद्मा नौ जना
सर्लाही समाचारदाता
हरिवन, पुस १५ । निर्वाचन आयोगमा सोमबार साँझसम्म विभिन्न २८ राजनैतिक दलहरुले बुझाएको नामावली अनुसार सर्लाहीबाट ७ जना समानुपातिक सभासद्मा चयन भएका छन् ।
सोमबार बुझाएको सूची अनुसार नेपाली कांग्रेसबाट हरेश महतो, एमाओवादीबाट शम्भु पासवान, तराई मधेश लोकतान्त्रिक पार्टीबाट केदारनन्दन चौधरी, सद्भावना पार्टीबाट सहिलदेवी महतो परेका छन् । त्यस्तै तराई मधेश सद्भावना पार्टी नेपालबाट नरेन्द्र साह र सोही पार्टीका क्षेत्र नं. ६ का उम्मेद्वार शिवपुजन रायकी भाउजु परेको अपुष्ट खबर प्राप्त भएको छ । कांग्रेस, सद्भावना र तमलोपाको नाम भने पार्टीका नेताहरुबाटै पुष्टी भईसकेको भएपनि अन्य नामहरु आधिकारिक रुपमा थाहा हुन सकेको छैन ।
कांग्रेसका महतोको घर बरहथवा हो । उनी २०६४ को संविधान सभा निर्वाचनमा क्षेत्र नं. ३ बाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका थिए ।
त्यस्तै तमलोपाका चौधरीको घर अचलगढ गाविसमा पर्दछ । उनी तमलोपा अध्यक्ष महन्थ ठाकुरका विश्वासपात्र एवं केन्द्रीय प्रतिनिधि हुन् ।
त्यस्तै सद्भावना पार्टीकी सहिलदेवी राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोकी श्रीमती हुन् । अनौपचारिक जानकारी अनुसार एमाओवादीबाट समानुपातिक सभासद्को नामवलीमा शम्भु पासवान पनि रहेकाले उनी सर्लाहीकै हुन सक्ने अनुमान गरिएको छ । एमाओवादीले निर्वाचन अघि सर्लाहीबाट पासवान सहित तीनजनालाई समानुपातिक उम्मेद्वार बनाएको थियो ।
त्यस्तै तमसपा नेपालको नामावली गोप्य राखिएकाले आधिकारिक जानकारी पाउन सकिएको छैन । पार्टीले साँझ अवेर नामावली बुझाएको र सर्लाहीबाट दुईजना परेको खबर आफूले पाएको जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहले बताए । उनका अनुसार क्षेत्र नं. ६ का साह र प्रत्यक्षतर्फका उम्मेद्वार रायको भाउजु परेका छन् ।
नेकपा एमालेले यसअघि नै निर्वाचन आयोगमा बुझाएको सूची अनुसार सर्लाहीबाट कमलादेवी महतो, रञ्जना सरकार र दुलारी देवी समानुपातिक सभासद्मा परिसकेका छन् । मधेशी जन अधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीले सूची बुझाउन बाँकी रहेको र अन्य विभिन्न पार्टीको नामावली विस्तृतमा थाहा हुन नसकेकाले सर्लाहीबाट समानुपातिक सभासद्मा अझै केही संख्या बढ्न सक्ने पनि जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment