हरिवनमा चलान वितरण, महोत्तरीमा चल्यो
सर्लाही समाचारदाता
रामनगर, पुस १३ । इन्दु शंकर चिनी उद्योग हरिवनले चालु सिजनमा उखु क्रसिङ गर्नका लागि किसानलाई उखु ल्याउने चलानपूर्जी वितरण सुरु गरेको छ ।
उद्योगका महाप्रबन्धक विजयकान्त झाले चलानपूर्जी वितरण सुरु गरिएको बताए । ‘‘चलानपूर्जी वितरण सुरु भयो ।’’ उनले भने–‘‘एकदुई दिनपछि नै उद्योग सञ्चालनमा आउँछ ।’’ कम्तिमा १० हजार क्वीन्टल उखु उद्योग परिसरमा जम्मा भएपछि उद्योग सञ्चालनमा आउने महाप्रबन्धक झाले बताए ।
यसवर्ष उद्योगले दैनिक उखु क्रसिङ क्षमतामा समेत वृद्धि गरेको छ । गतवर्षहरुमा दैनिक ३० हजार क्वीन्टल क्रसिङ गर्दै आएको उद्योगले यसवर्ष ५० हजार क्वीन्टल पु¥याएको छ । ‘‘उद्योगलाई दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमतामा पु¥याएका छौं ।’’ महाप्रबन्धक झाले भने–‘‘कम्तिमा दैनिक ४० देखि ४५ हजार क्वीन्टल उखु क्रसिङ हुन्छ ।’’
यसवर्ष ४० लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखिएको समेत महाप्रबन्धक झाले बताए । सो उद्योगले गतवर्ष २६ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । गतवर्ष पुष ३ गते सञ्चालनमा आएको उद्योग उखु किसानका प्रतिनिधि र उद्योगपतिहरुबीच मूल्यका विषयमा वार्ता नमिल्दा यसवर्ष भने सञ्चालनमा केही ढिलाई हुने भएको छ । चिनी उद्योगपति र उखु किसान प्रतिनिधिबीच नेटपूर्जीमा शुन्य मूल्य लेखेर तत्काल उद्योग सञ्चालन गर्ने र माघ मसान्त भित्र उखुको मूल्य तय गर्ने सहमति भएको छ । मूल्यका विषयमा उद्योगपतिहरुसँग वार्ता नमिल्दा उद्योग सञ्चालनमा भएको ढिलाईले किसानहरु चिन्तित बनेका थिए ।
त्यस्तै महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी उद्योग शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ । किसानसँग सहमति भएपछि उद्योगले गएको बुधबारदेखि उखु कटानको लागि किसानलाई अनुमति पुर्जी (चलान) वितरण गरेको थियो ।
शुक्रबार दिउँसो सम्ममा १५ हजार क्वीन्टल उखु जम्मा भएपछि उद्योग सञ्चालन गरिएको उद्योगका प्रमुख उखु प्रबन्धक युगलकिशोर चौरसियाले जानकारी दिए । गत बर्ष ४५ लाख क्वीन्टल उखु क्रसिङ गरेको एभेष्टले यस बर्ष ५० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । महोत्तरीमा यस बर्ष २५ लाख क्वीन्टल भन्दा धेरै उखु उत्पादन भएको अनुमान गरिएको छ । उद्योगलाई चाहिने वाँकी उखु सर्लाही र धनुषा जिल्लाबाट ल्याइने उखु प्रबन्धक चौरसियाले बताए ।
No comments:
Post a Comment