वैदेशिक रोजगार हकहित केन्द्र गठन
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २८ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित वनाउन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले शुक्रवार १९ बुंदे ज्ञापनपत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई बुझाएको छ ।
बैदेशिक रोजगारीबाट फर्केका कामदार र तीनका परिवारका सदस्यको भेलाले गठन गरेको केन्द्रले आप्रवासी कामदारको हितका निम्ती कार्यान्वयन गर्नुपर्ने बुंदा तय गरेको थियो ।
गन्तब्य मुलुकसंग श्रम सम्झौता हुनुपर्ने, क्षतिपूर्ति रकम बृद्धि गर्नुपर्ने, बैदेशिक रोजगार विभागलाई बिकेन्द्रीत गर्नुपर्ने, बैदेशिक रोजगारमा जानेलाई बैंक मार्फत सर्वसुलभ ऋण उपलब्ध गराउनुपर्ने, जिवन बीमाको रकम बृद्धि गर्नुपर्ने, महिला कामदारको सुरक्षाका लागि विशेष ब्यबस्था मिलाउनुपर्ने, जिल्लावाट राहदानी लिंदा १ महिना भित्र पाउने ब्यबस्था मिलाउनु पर्ने लगायतका माग ज्ञापन पत्रमा छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले मागहरुबारे माथिल्लो निकायमा जानकारी गराईने बताए । भेलामा बिदेशींदाको भोगाई, अनुभव साटासाट गरिएको थियो । विश्व आप्रवाशन दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम अन्तर्गत बिहिवारदेखि दुई दिने भेला राखिएको थियो । बैदेशिक रोजगारीमा जाँदाका कठिनाई फुकाउन भेलाले पहिलो पटक साहको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । साहले बैदेशिक रोजगारीमा जाने नेपाली कसरी अलपत्र पर्छन, ठगिन्छन जस्ता विषयमा भेलामा छलफल भएको वताए । ‘‘विदेश जानु अघि अभिमुखिकरण तालिम आबश्यक भएपनि धेरे संस्थाले शुल्क लिएर सिधै प्रमाणपत्र दिन्छन ।’’ उनले भने–‘‘तालिम दिनैपर्ने गरि निगरानी जरुरी छ ।
तालिम अभावमा धेरै नेपाली विदेश पुगेर ठगिन्छन् ।’’ उनले बिदेशीनेका परिवार र विदेश जाने दुबै पक्षको भेला उपलब्धिमुलक भएको बताए । समितिकी उपाध्यक्ष बुना कार्कीले वैदेशिक रोजगारीका सिलसिलामा महिलाहरुमाथि अनावश्यक पीडा थपिने गरेको बताईन् । ‘‘वैदेशिक रोजगारीका सिलसिलामा महिलाहरुमाथि अनावश्यक दुःख दिने गरिन्छ ।’’ उनले भनिन्–‘‘त्यस्तो कार्य तुरुन्त बन्द हुनपर्दछ ।’’
‘सिप, सुचना र अभिमुखिकरण, सुरक्षित र मर्यादित आप्रवासन’ भन्ने मूल नाराका साथ विश्व आप्रवासन दिवस २०१३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिविस सभाहलमा विहिबारदेखि सुरु भएको भेलाले शुक्रबार आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीको तदर्थ समिति गठन गरेको हो । समितिमा अध्यक्ष रामनाथ साह, उपाध्यक्ष बुना कार्की, सचिव शुभलाल राम, कोषाध्यक्ष तिलक खड्का र सहसचिव पूर्णकुमारी पोखरेललाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा राजकुमार राय, कामेश्वर महतो, शम्भु राउत, गोविन्द चौधरी, कल्पनाथ दाहाल, सन्तोष कुमार साह, दिनेस राय, रामविश्वास साह, अस्मिता राय र अनोज परियार रहेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार मलंगवामा कविता प्रतियोगिता, आइतबार हरिवनमा निबन्ध प्रतियोगिता लगायत कार्यक्रमहरु गरिने सहयोगि संस्थाका हरि थापाले बताए । उनले वैदेशिक रोजगारीमा गएकाहरु अलपत्र पर्ने गरेकाले त्यसको सहयोगका लागि राज्यले उचित ध्यान नदिएको समेत गुनासो गरे ।
No comments:
Post a Comment