अधिकांश दलको ‘भाई’, राप्रपा नेपालको ‘गाई’
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १९ । भर्खरै सम्पन्न भएको संविधान सभा निर्वाचनमा जिल्लामा क्रियाशिल राजनैतिक दलहरु मध्ये अधिकांशका प्रत्यक्षतर्फ खडा भएका उम्मेद्वार (भाई) हरु बलिया देखिएका छन् । ‘एक भोट भाईलाई, एक भोट गाईलाई’ भन्ने निर्वाचन अघि अत्याधिक प्रचारमा आएको भनाई सर्लाहीमा व्यवहारमै पुष्टी भएको मतपरिणामले देखाएको छ । राप्रपा नेपालको भने प्रत्यक्षतर्फ खडा भएका उम्मेद्वार भन्दा समानुपातिक भोट अत्याधिक रहेको छ । अन्य केही दलको पनि प्रत्यक्ष उम्मेद्वारको तुलनामा केही बढी समानुपातिक मत रहेको छ ।
सर्लाहीमा प्रत्यक्ष एवं समानुपातिकतर्फ बढी मत ल्याएका नेपाली कांग्रेस, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, एकिकृत नेकपा (माओवादी), मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), राप्रपा नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, संघीय समाजवादी पार्टी नेपाल मध्ये अधिकांशको प्रत्यक्षमा खडा भएका उम्मेद्वारहरुले बढी मत ल्याएका छन् भने केही दलको मात्र उम्मेद्वारको भन्दा बढी मत समानुपातिकमा खसेको छ ।
जसमा जिल्लाभरीमा सबैभन्दा बढी कांग्रेसले प्रत्यक्षतर्फ ३९ हजार ५ सय ३१ तथा समानुपातिकतर्फ ३४ हजार २ सय ५६ मत पाएको छ । जिल्लामा क्षेत्र नं. २ र ६ मा जित हाँसिल गरेको कांग्रेसका उम्मेद्वार डा. अमरेश कुमार सिंहले जिल्लामै सबैभन्दा बढी १७ हजार ४ सय मत हाँसिल गरेका छन् । क्षेत्र नं. २ मा भने कांग्रेसका रामचन्द्र चौधरीले जित हाँसिल गरे ।
त्यस्तै एमालेले प्रत्यक्षतर्फ ३७ हजार दुईसय ७१ तथा समानुपातिकतर्फ २७ हजार आठसय ४३ मत हाँसिल गरेको छ । एमालेबाट भने क्षेत्र नं. ३ का हरि उप्रेतीले मात्र प्रत्यक्षतर्फ जीत हाँसिल गरे भने क्षेत्र नं. १ मा खडा भएका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले पराजय व्यहोर्नु प¥यो ।
त्यसैगरीजिल्लामा तमसपा नेपालले ३२ हजार ६ सय ८ प्रत्यक्षतर्फ एवं समानुपातिकतर्फ २८ हजार पाँचसय ६५ मत ल्याएको छ । तमसपा नेपालको तर्फबाट क्षेत्र नं. ४ मा उम्मेद्वार खडा भएका राष्ट्रिय अध्यक्ष अध्यक्ष महेन्द्र राय यादवले मात्र विजय हाँसिल गरेका थिए ।
त्यस्तै तमलोपाले प्रत्यक्षतर्फ २६ हजार ६ सय ५८ मत पाएको छ भने समानुपातिकतर्फ २४ हजार १ सय ९६ मत पाएको छ । तमलोपाको तर्फबाट क्षेत्र नं. ५ मा जिल्ला अध्यक्ष जंगीलाल रायले मात्र विजय हात पारे । तमलोपाबाट राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर समेत उम्मेद्वार रहेका थिए ।
त्यसैगरी सद्भावना पार्टीले प्रत्यक्षतर्फ २६ हजार २६ हजार पाँचसय ६८ एवं समानुपातिकतर्फ २२ हजार आठ सय ४८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो क्षेत्र नं. ४ तथा जिल्ला अध्यक्ष प्रमोद साह क्षेत्र नं. ५ मा खडा भएपनि उनीहरु दोस्रोमै सिमित रहन बाध्य भए ।
त्यस्तै एमाओवादीले प्रत्यक्षतर्फ २५ हजार ६ सय ३७ एवं समानुपातिकतर्फ २२ हजार २ सय ५६ मत हाँसिल गरेको छ । क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ एमाओवादी उम्मेद्वार शम्भुलाल श्रेष्ठले विजय हाँसिल गरे ।
फोरम नेपालले प्रत्यक्षतर्फ १८ हजार पाँचसय ८५ मत पायो भने समानुपातिकतर्फ १५ हजार चारसय २९ मत मात्र पाएको छ । त्यस्तै फोरम लोकतान्त्रिकले प्रत्यक्षतर्फ १० हजार आठसय ५१ मत पायो भने समानुपातिकतर्फ नौहजार चारसय ४२ मत हाँसिल ग¥यो ।
त्यसैगरी राप्रपा नेपालले भने प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ अत्याधिक मत पाएको छ । निर्वाचन अघि नै मुलुकव्यापी चर्चा पाएजस्तै सर्लाहीमा पनि उसको समानुपातिकमा असोचनिय भोट बढेको छ । प्रत्यक्षतर्फ पाँचहजार एकसय ५९ मतमात्र पाएको राप्रपा नेपालले समानुपातिकतर्फ भने त्यसको झण्डै तीनगुणा बढी १४ हजार चारसय आठ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने राप्रपा नेपालबाट जिल्लाका ६ वटै क्षेत्रमा खडा भएका उम्मेद्वारहरुले जमानत समेत बचाउन सकेनन् ।
त्यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीले पनि प्रत्यक्षमा तीनहजार सातसय ७२ मत पाउँदा समानुपातिकतर्फ चारहजार तीनसय ६६ मत हाँसिल ग¥यो भने प्रत्यक्षतर्फ तीनहजार एकसय ९१ मत ल्याएको संघीय समाजवादी पार्टीले समानुपातिकतर्फ तीनहजार नौसय ६ मत ल्यायो । रामसपा र संसपाका पनि ६ वटै क्षेत्रमा खडा भएका उम्मेद्वारले जमानत बचाउन सकेनन् । अन्य ठूला दलका उम्मेद्वारहरुले पनि केही क्षेत्रमा जमानत बचाउन सकेका छैनन् ।
No comments:
Post a Comment