किशोरीमाथि प्रहरीसहितको सामुहिक बलात्कार
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २० । सदरमुकाम मलंगवामा दुईदिन देखि एक किशोरीमाथि सामुहिक बलात्कार भएको बताईएको छ । घटनाबारे अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले बलात्कार घटनाबारे सुक्ष्म ढंगले बुझ्ने काम भईरहेको बताए । ‘‘बलात्कारबारे कतैबाट उजुरी आएको छैन ।’’ उनले भने–‘‘तरपनि हामी त्यसबारे अनुसन्धानमा जुटेका छौं ।’’ पीडितपक्षबाट उजुरी आएपछि थप विस्तृतमा थाहा हुने उल्लेख गर्दै प्रनाउ भट्टराईले हाल आन्तरिक रुपमा बुझ्ने काम भईरहेको बताए ।
गत सोमबार दिउँसो र राती मलंगवा स्थित विभिन्न लजहरुमा एक युवतीमाथि सामुहिक बलात्कार भएको बताईएको छ । सिन्धुपाल्चोककी ति किशोरीमाथि ८–९ जनाको समूहले जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो । ‘‘जिल्ला प्रहरी कार्यालयमा औपचारिक रुपमा कुनै जानकारी वा उजुरी आएको छैन ।’’ एक प्रहरीले भने–‘‘तर ती किशोरीमाथि सामुहिक बलात्कार भएको अनौपचारिक ढंगले बुझिसकिएको छ ।’’
बलात्कारमा संलग्न भएको आशंकामा तीनजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको स्रोतले बतायो । ‘‘तीनजना जवानलाई नियन्त्रणमा लिएर डिएसपी साहेब आफैले अनुसन्धान अगाडी बढाईसक्नु भएको छ ।’’ एक प्रहरीले भने–‘‘समग्र प्रहरी संगठनलाई नै बदनाम गराउने घटनाका आरोपी तीनजनालाई नै कडा कार्वाही गर्ने हाकिमसाहेवहरुले मनस्थिती बनाईसक्नु भएको छ ।’’ प्रनाउ भट्टराईले भने हाल प्रारम्भिक रुपमै बुझ्ने काम भईरहेको बाहेक अन्य थप बताउन चाहेनन् ।
श्रोतका अनुसार काठमाण्डौ–मलंगवा चल्ने एक रात्रीबसका कण्डक्टरले ती किशोरीलाई गत आईतबार राती काठमाण्डौबाट मलंगवा ल्याएका थिए । कण्डक्टरले मलंगवा स्थित एक लजमा राखेर करणी गरेको र पछि उनले ती किशोरीलाई ७–८ जनाको समूहलाई जिम्मा लगाएको प्रहरी स्रोतले बतायो । बलात्कारमा तीनजना प्रहरीहरु समेत रहेको बताईएपनि त्यसको आधिकारिक पुष्टी भने भईसकेको छैन । प्रहरी नायव उपरीक्षक भट्टराईले प्रहरीका जवानहरुसमेत बलात्कारमा संलग्न रहेको चर्चा मात्र सुनेको र त्यसबारे गम्भिर ढंगले बुझ्ने काम भईरहेको बताए ।
काठमाण्डौ स्थित तिलगंगा आँखा अस्पतालमा आँखा परिक्षण गराउन आएकी ती किशोरीलाई मलंगवा चल्ने रात्रीबसका कण्डक्टरले फकाई फुलाई ल्याएको बताईएको छ । काठमाण्डौ मलंगवा चल्ने अधिकांश रात्रीबसहरु तिलगंगा आँखा अस्पताल पछाडीको खाली जग्गामा पार्किङ गरेर राख्ने गरिन्छ ।
सामुहिक बलात्कारपछि अर्धचेत अवस्थामा पुगेकी ती किशोरीलाई उद्धार गरेर हाल महिला तथा बालबालिका कार्यालयको संरक्षणमा राखिएको बताईएको छ । यसबारे थप बुझ्न महिला तथा बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठसँग सम्पर्क प्रयास गर्दा विहिबार साँझ उनको मोबाईल नउठेकाले थप कुरा थाहा हुन सकेन । कानूनी कार्वाही प्रकृया अगाडी बढाउन शुक्रबार किशोरीका अभिभावक मलंगवा आउने बताईएको छ ।
No comments:
Post a Comment