चर्चित गायक गुरुङ्गले मोहित पारे लालबन्दीमा
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर २७ । मुलुककै चर्चित सांगितिक व्याण्ड नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ मुल नाराका साथ संगीत यात्रा २०७० अन्तर्गत विहिबार अपरान्ह लालबन्दीमा सांगीतिक प्रस्तुती दिएको छ । उक्त ब्याण्डका चर्चित गायक अमृत गुरु·ले बीणा चलचित्र मन्दिर लालबन्दीमा एकल गायन प्रस्तुत गरे ।
गुरु·ले गायनका बीच–बीचमा सन्देशमुलक भनाईहरु राख्दै मुलुकका लागि समर्पित हुन उनी आग्रह गर्दथे । देशमा कुनै नराम्रो घट्ना सुन्नु नपरे हुन्थ्यो भन्ने चाहना उनले दोहो¥याई रहे । गुड्दै गरेको बसमा बम हान्दा बालबालिका घाइते भएको जस्ता घट्ना कहिल्यै नदोहोरियोस् भनेर उनले कामना गरे । ‘हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली हुन् ।’’ उनले आग्रह गरे–‘‘पूर्खा देखि मिलेर बसेका नेपाली फेरीपनि यसैगरि बस्नु पर्छ । जात, धर्म र अन्य कारणले झगडा नगरौं ।’’
कार्यक्रम अवधिभर उनको गीतप्रति मात्र हैन सबै भाषाभाषी र जातजातीका नेपालीहरु आपसमा मिलेर बसौं है भनेर गरेको आव्हानमा समेत सम्पूर्ण विणा चलचित्र मन्दीर परिसर नै पटक–पटक चर्को ताली र आवाजले गुञ्जायमान हुँदै समर्पित बनेको थियो । उत्तरमा सेतै टल्किएका हिमाल, बीचमा हरियाली पहाड अनि दक्षीणमा समथल भूमिको तराईले नेपाललाई सुन्दर बनाएको उल्लेख गर्दै गायक गुरुङले यस्तो सुन्दरतालाई विगार्ने हैन सबै भाषा भाषी, जात जाती मिलेर मुलुकलाई नै समृद्ध बनाउनुपर्ने तर्क गरे । त्यसका लागि उनले शिक्षामा नै बढी जोड दिए । विद्यालयमा राजनैतिक हस्तक्षेप अनि विध्वंशात्मक कार्यहरु बन्द गर्न समेत उनले आग्रह गरे । शान्तिको लागि शिक्षा अभियान बोकेर मुलुकभर यात्रामा निस्केको उक्त समूहले दर्शकबाट अहिलेसम्मकै सबैभन्दा बढी माया यस ठाउँमा पाउन सफल भएको हो । ‘‘गीत संगीत प्रति यहाँका दर्शकहरुको यति लगाव छ भन्ने कहिल्यै अन्दाज भएन ।’’ कार्यक्रमका बीच नेपथ्यका टोली अगुवा एवं मुख्य गायक गुरुङले भने–‘‘फेरि आउनेगरि लालबन्दीले मोहनी लगाएको छ ।’’ कार्यक्रम चलिरहँदै पनि उनले ब्यापक दर्शक प्रतिक्रियाबाट मख्ख पर्दै भने–‘‘पहिल्यै यस ठाउँमा किन आएनछुँ ?’’
उनले विभिन्न चेतनामूलक सन्देश दिने गीतहरुका साथै रेशम, भेडाको उन जस्तो, जोगले हुन्छ भेट, जोमसोमै बजारमा जस्ता नेपथ्य व्याण्डका चर्चित गीतहरु पनि सुनाए, जसबाट जाडो याममा समेत दर्शकहरु कम्मर मर्काई–मर्काइ नाचेर तातिएका थिए । विणा चलचित्र मन्दिरको हल उनलाई मन पराउने दर्शकले खचाखच भरिएको थियो । गीतको विचमा उनले अघिल्लो लहरमा टन्न बसेका बिद्यार्थीलाई निकै राम्रा सन्देश दिए । उनले कार्यक्रममा मायाप्रितीका गीत मात्र नभइ राष्ट्रिय ध्वजाको सम्मान गर्दै अन्त्यमा प्रस्तुत गरेको ‘रातो र चन्द्र सूर्य’ बोलको स्वदेश गीत समेत गायका थिए । कार्यक्रमको बीच–बीचमा मादल, ड्रमसेट, गितार लगायत सांगीतिक वाजाहरुको प्रस्तुतीको धुनले समेत मन्त्रमुग्ध बनाएको थियो । कन्सर्टको प्रभाव कतिसम्म परेको थियो भने कार्यक्रम सकिएको झण्डै पौने एक घन्टा पछिसम्म पनि हुल हुलमा बसेका युवा युवतीहरु चर्को स्वरले नेपथ्यका गीतहरु सुनाइरहेका थिए ।
नेपथ्यका गीतहरु मात्र नभइ लालबन्दीको इतिहासमै यस किसिमको प्रस्तुती पहिलोपटक हुनुले पनि आफुहरुलाई रमाइलो लागेको स्थानिय नवराज मिश्रले बताए । ‘‘यस अघि पनि विभिन्न महोत्सवमा राष्ट्रियस्तरका कलाकार आएर प्रस्तुत नगरेको होइन ।’’ कार्यक्रम हेरबाहिरिँदै गरेका मिश्रले भने–‘‘तर, उनीहरु सबैले ट्रयाक बजाएर गीत सुनाएको अनुभवका बीच पहिलोपटक वाद्यवादकले भरिएको मञ्चमा लाइभ कन्सर्ट हेर्न पाइयो ।’’ कराँते प्रशिक्षक समेत रहेका हरिवन निवासी दिलिपराज भण्डारीले कार्यक्रमले भरपुर मनोरञ्जनका साथै सन्देश समेत दिएको बताए । कार्यक्रममा गायक गुरुङले गीत गाउँदै गर्दा शब्दसँग मेल खाने खालका वृत चित्र एवं तस्बीरहरु समेत पर्दामा देखाईएको थियो भने, भेडाको उनजस्तो भन्ने गीत गाउँदा मास्तिरबाट भेडाकै उनजस्तो देखिने सेतो चिजहरु स्वचालित रुपमा खस्ने जस्ता वातावरण तयार पारिएको थियो । अत्याधुनीक लाईट सिस्टमले कार्यक्रमलाई भव्यता दिएको थियो । नेपालयको आयोजना एवं स्थानीय सोसाईटी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहआयोजनामा कार्यक्रम भएको थियो । संगीत कार्यक्रमवाट भएको आम्दानीले छात्रबृति कोष खडा गरेर सामुदायिक बिद्यालयका बिद्यार्थीलाई वितरण गर्ने निर्णय भएको आयोजक सदस्य नरायण गुर्माछानेले वताए । कार्यक्रमबाट तीन लाख भन्दा बढी रकम संकलन भएको अनुमान गरिएको छ । जसमध्ये कार्यक्रमको खर्च कटाएर १ लाख भन्दा बढी बँच्ने बताईएको छ ।
No comments:
Post a Comment