Friday, December 6, 2013

मलंगवामा अख्तियार प्रमुखको निर्देशन

मलंगवामा अख्तियार प्रमुखको निर्देशन
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय प्रमुख विश्वराज ढकालले राष्ट्रसेवक कर्मचारीहरुलाई आचरण नविगारी निर्धक्कसँग जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
शुक्रबार जिल्ला विकास समितिको कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै आयोगको क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख ढकालले राज्यले दिएको जिम्मेवारी अनुसार जनताको सेवामा समर्पित हुन उपस्थित कर्मचारीहरुसँग आग्रह गरे । उनले अनियमित गर्ने कर्मचारी विरुद्ध कडा कार्वाहीको प्रकृया सुरु गरिने समेत चेतावनी दिए ।
कार्यक्रममा बोल्दै सभासद् डा. अमरेश कुमार सिंहले जनताको काम गर्ने क्रममा आईपर्ने बाधा व्यवधानमा सहयोग गर्न आफू तयार रहेको बताए । ‘‘जनताको लागि राम्रो काम गर्नुस्, म जस्तोसुकै सहयोग गर्न तयार छु ।’’ कार्यक्रममा उपस्थित कर्मचारीहरुसँग आग्रह गर्दै उनले भने–‘‘विकासका कार्यक्रमहरु ल्याउन पनि म सकृय सहयोग गर्नेछु ।’’
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेवाग्राहीलाई सर्वसुलभ ढंगले समयमै सेवा दिनुपर्ने, सेवामा गुणस्तरीयता हुनुपर्ने एवं सेवाग्राहीको सन्तुष्टीमा राष्ट्रसेवक कर्मचारीहरुले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी उमेश बस्नेत, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल सहित विभिन्न सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, गाविस सचिवहरु लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment