Sunday, December 15, 2013

जिविसका योजनाहरु माघमै सुरु गरिने

जिविसका योजनाहरु माघमै सुरु गरिने
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २९ । जिल्ला विकास समितिको कार्यालयले चालु आर्थिक वर्ष (०७०÷०७१) का विकासे योजनाहरु माघबाटै सुरु गर्ने भएको छ ।
स्थानीय विकास अधिकारी उमेश बस्नेतले चालु आर्थिक वर्षका योजनाहरु माघभित्रै सञ्चालन सुरु भईसक्ने दावी गरेका छन् । ‘‘यसवर्ष हामी माघबाटै योजनाको काम सुरु गर्ने गरी अगाडी बढेका छौं ।’’ उनले भने–‘‘उपभोक्ता समितिमार्फत गरिनुपर्ने भनेर तोकिएका योजनाहरु समितिबाट र अन्य योजनाहरु टेण्डर प्रकृयाबाट बेलैमा सुरु गर्नेछौं ।’’
विगतमा जेठ असारमा मात्र सम्झौताको काम सुरु गर्ने र योजनाका बजेटहरु फ्रिज (फिर्ता) गर्ने जिल्लाको प्रचलन अन्त्य गर्दै यसवर्ष प्रभावकारी ढंगले बेलैमा काम सुरु गराउने गरी प्रकृया अगाडी बढाईएको स्थानीय विकास अधिकारी बस्नेतको दावी थियो । ‘‘विभिन्न स्वार्थका कारण हरेक योजनाहरु जेठ असारमा मात्र सञ्चालन सुरु हुने गरेको छ ।’’ उनले भने–‘‘तर यसवर्ष सबै योजनाहरु माघबाटै सुरु गर्दैछौं, त्यसका लागि प्रकृयागत ढंगले अगाडी बढिसकेका छौं ।’’
योजनाहरुको लगत ईस्टमेट तयार गर्ने लगायत प्राविधिक कामका कारण विलम्ब हुने गरेको गुनासो आएकाले यसवर्ष त्यसतर्फ पनि सुधार गरेर अगाडी बढ्ने तयारी भएको उनले दावी गरे । ‘‘प्राविधिक कर्मचारीहरुलाई पनि यसवर्ष बेलैमा लगत ईस्टमेट लगायतका कामहरु समयमै अगाडी बढाउन सचेत गराईसकेका छौं ।’’ उनले दावी गरे–‘‘त्यसैले यसवर्ष योजना सञ्चालन र सम्पन्न चाँडै हुने विश्वास लिएका छौं ।’’ गत बुधबार जिविसले आयोजना गरेको सर्वदलिय बैठकका सहभागिहरुले पनि योजनाको लगत ईष्टमेटमा ढिलाई हुँदा बेलैमा योजना सञ्चालन गर्न कठिनाई पर्ने गरेको गुनासो गरेका थिए । जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख कमलेश्वरप्रसाद बर्माले पुष मसान्तभित्र योजनाहरुको लगत ईष्टमेट सकिसक्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीय विकास अधिकारी बस्नेतले लगत ईष्टमेटको काम जतिसक्दो चाँडो भयो उति चाँडो योजनाहरुको काम सुरु हुने बताए । उनले चालु आर्थिक वर्षमा ५ लाख भन्दा बढी बजेटका योजनाहरु टेण्डर प्रकृयाबाटै सञ्चालन गरिने प्रतिबद्धता जनाए । ‘‘अधिकांश दलका प्रतिनिधिहरुले पनि टेण्डर प्रकृयाबाटै काम गर्न सुझाव दिनुभएको छ ।’’ उनले भने–‘‘त्यसैले उपभोक्ता समितिबाटै गर्नुपर्ने भनेर तोकिएका बाहेक ५ लाखभन्दा बढी बजेटका योजनाहरु टेण्डर प्रकृयाबाटै गर्नेछौं ।’’ पुस मसान्तभित्र लगत ईष्टमेटको काम सकेर माघ पहिला साताबाटै योजना सञ्चालनका लागि समिति गठन गर्नुपर्ने भए उपभोक्ता समिति गठन गर्ने र टेण्डर लगाउने भए ठेक्का प्रकृयामा जाने जिविसले जनाएको छ ।
यसवर्ष जिविसमा सरकारी अनुदान बापत ७० लाख, कृषि सडकमा १ करोड १० लाख, खानेपानी तथा सरसफाईमा ३५ लाख, सानासिंचाईमा २५ लाख, नदी नियन्त्रण्मा १५ लाख, सुनौला हजार दिन कार्यक्रममा ३ करोड, स्थानीय स्तरका सडकपुलमा ५० लाख, झोलुंगे पुलमा ५६ लाख लगायत अन्य विभिन्न शिर्षकहरुमा बजेट रहेको छ । जिविसको आÇनै ५ करोड हाराहारीमा आन्तरिक आम्दानीबाट समेत चालु खर्च छुट्ट्याएर बाँकी रहेको बजेटबाट विकास निर्माणका कामहरु हुनेछन् ।
जिविसका विकास निर्माण सम्बन्धी योजनाहरु हरेकवर्ष आर्थिक वर्षको अन्तिम समय अर्थात जेठ र असारमै सम्झौता गर्ने र वर्षातमा योजनाहरुको काम सुरु गर्दा प्रभावकारी विकास निर्माण नहुने गरेको गुनासो आउने गरेको छ । राजनैतिक दलका नेता तथा जिविस कर्मचारीहरुकै मिलेमतोमा आर्थिकवर्षको अन्तिम समयमा मात्र योजनाको सम्झौता भई भारी वर्षातको समयमा काम सुरु गर्ने र अधिकांश योजनाहरुमा अनियमितता हुने गरेको जानकारहरु बताउँछन्  ।

No comments:

Post a Comment