हारको कारण खोज्न खनालको निर्देशन
काठमाण्डौ, मङ्सिर १५ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले बलियो संगठन र जनउभार देखिएपनि सर्लाही क्षेत्र नं १ बाट आफू पराजित हुनाका कारण समीक्षा गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।
अध्यक्ष खनालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी जनकपुर अञ्चल समन्वय कमिटी, जिल्ला कमिटी सर्लाही र सम्बन्धित क्षेत्रीय कमिटीलाई यस्तो निर्देशन दिएका हुन् । उनले सर्लाही क्षेत्र नम्बर १ का १२ वटै गाविसमा एमालेको बलियो जनाधार रहेको भन्दै झिनो मतअन्तरको पराजयले जनताको मनलाई कहिल्यै पराजित गर्न नसक्ने र आफू सदैव सर्लाहीवासीका साथ रहने पनि उल्लेख गरेका छन् । इलामबाट निर्वाचित खनाल एमाओवादीका उम्मेद्वार शम्भुलाल श्रेष्ठबाट सर्लाहीमा पराजित भएका थिए । निर्वाचनका क्रममा सर्लाहीको एकीकृत विकाससम्बन्धी अवधारणामार्फत विकास निर्माण गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने भन्दै अध्यक्ष खनालले आफूलाई मतदान गर्ने मतदाता, नेता कार्यकर्ता तथा आम जनतामा आभार पनि प्रकट गरेका छन् । –रासस
No comments:
Post a Comment