शुक्रबार पनि कर्मचारी क्षेत्रमा गएनन्
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २९ । व्यवस्थापनमा भएको ढिलाई एवं मतदान केन्द्रमा खटिने कर्मचारी स्वयं आन्दोलनमा उत्रीएका कारण अस्थायी मतदाता परिचय पत्र वितरण लगायतका काम प्रभावित हुने भएको छ ।
शनिबार विहानै मतदान केन्द्ररुबाट मतदाता परिचय पत्र वितरण लगायत काम सुरु गर्ने भनिएपनि मतदान अधिकृत एवं सहायक मतदान अधिकृत सहित तोकिएका कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा शुक्रबार समेत जान नसकेका कारण ती कामहरु प्रभावित हुने भएका हुन् । दुईसय मतदान केन्द्रका सामग्रीहरु वितरण गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए । ‘‘म कहाँबाट २ सय मतदान केन्द्रको सामग्री पठाउन बाँकी छ, भोली विहानसम्म दिएर फिल्डमा कर्मचारीलाई पठाईसक्छौं ।’’ अधिकारीले शुक्रबार सर्लाही दैनिकसँग भने–‘‘मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयबाट पनि सामग्रीहरु लिन बाँकी होला, दिउँसोसम्ममा मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण लगायतका काम सुरु हुन्छ होला ।’’ मतदान अधिकृत एवं सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयबाट मतदाता परिचय पत्र, मतपेटिका सहित केही अन्य सामग्री तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतदाता नामावली लगायत सामग्रीहरु वितरण हुन्छ । दुईदिने तालिमको भत्ता लगायतमा अन्य जिल्लाको तुलनामा कम रकम पाएको भन्दै कर्मचारीहरु शुक्रबार विहान जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने लगायत विरोधमा उत्रेपछि सामग्री वितरणमा समस्या भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई लैजानका लागि १७ वटा बस तथा सामग्री लैजान १७ वटा ट्रक शुक्रबार विहानैबाट तयारी हालतमा राखिएको भएपनि समयमै सामग्री वितरण हुन नसकेका कारण त्यसै थन्किएका छन् । ती सवारी साधनलाई सदरमुकाम मलंगवा स्थित कभर्ड हलमा राखिएको र शनिबार विहान सामग्री वितरण सकिएपछि कर्मचारीलाई मतदान केन्द्रमा पठाईने प्रमुख अधिकारीले बताए ।
No comments:
Post a Comment