सभासद्मा निर्वाचित सकसपूर्ण ‘घरदैलो’मा व्यस्त
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १५ । निर्वाचनको दिनभन्दा झण्डै महिनादिन अघिदेखि भोट माग्दै मतदाताको घरदैलोमा आउने विभिन्न राजनैतिक दलका उम्मेद्वारहरुको लर्को लामै थियो । आफू तथा आÇनो पार्टीलाई भोट हाल्न आग्रह गर्दै उम्मेद्वारहरु मतदाताको घर–घर अर्थात घरदैलोमा व्यस्त बनेका थिए । अन्ततः निर्वाचन पनि सकियो । हरेक क्षेत्रबाट १–१ जनाले जिते र बहुसंख्यकले हारे । तरपनि मतदाताको घरदैलोमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरुको ओइरो टुटेको छैन । पहिला खाली निधार अनि खाली गलामा भोट माग्दै उम्मेद्वारहरु आउथे भने निर्वाचन सकिएपछि गलाभरी माला र अनुहारभरी अविर पहिरिएर संविधान सभा सदस्यको रुपमा धन्यवाद प्रकट गर्दै मतदाताको घर–घरमा पुगिरहेका छन्, जीत्ने उम्मेद्वार अनि सँगै हुन्छन राताम्मे नेता कार्यकर्ताहरु । विगतका निर्वाचनमा मत परिणाम आउने वितिकै निश्चित स्थानहरुमा विजय जुलुस सकेर जित्ने सभासद् तत्कालै राजधानीतर्फ हुईकिने परम्परा यसवर्ष भने ठ्याक्कै उल्टिएको छ । विजयी भएको झण्डै डेढ सातासम्म पनि जित्ने उम्मेद्वारहरु मतदाताकै घरदैलोमा भोट मागेजस्तै ‘जम्ल्याहा हात’ पारेर सकसका साथ डुलिरहेका भेटिन्छन् । ‘‘यो सभासद्मा विजयी भएपछि त खेतमा काम गर्ने खेताला भन्दा पनि गाह्रो भएको छ ।’’ तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ५ बाट विजयी जंगीलाल रायले भने–‘‘पहिला यस्तो देखिएको थिएन, अहिले त गाह्रो भयो ।’’
जिल्लाका ६ वटा निर्वाचन क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित सभासद्हरु अहिले गाउँ गाउँमा मतदातालाई धन्यवाद दिदै हिडिरहेका छन् । क्षेत्र नं. १ बाट विजयी एकिकृत नेकपा (माओवादी) का शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. २ बाट विजयी नेपाली कांग्रेसका रामचन्द्र चौधरी, क्षेत्र नं. ३ बाट विजयी नेकपा (एमाले) का हरि उप्रेती, क्षेत्र नं. ४ बाट विजयी तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव र क्षेत्र नं. ५ बाट विजयी तराई मधेश लोकतान्त्रिक पार्टीका सर्लाही अध्यक्ष जंगीलाल राय ।
नेपाली राजनीतिको राष्ट्रिय तहमा सकृय हुनुपर्ने तमसपा नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव समेत विजयी भएपछि आÇनो क्षेत्रका गाउँ–गाउँमा घुम्न व्यस्त रहेका छन् । उनी शुक्रबार साँझसम्म पनि जिल्लामै रहेका थिए । ‘‘मतदाताको माग अनुसार विजयोत्सव गर्न गाउँ–गाउँमा घुमिरहेको छु ।’’ शनिबार गम्हरियामा राताम्मे बनेर नेता कार्यकर्ताहरुले घेरिएर घुमिरहेका अध्यक्ष यादवले भने–‘‘भोट माग्न जाँदा अधिकांश मतदाताले जितेपछि गाउँ नफर्कने गरेको आरोप लगाएकाले पनि अहिले जितेका सबैलाई मतदाता समक्ष पुग्न दवाव भएको हो ।’’ आइतबार काठमाण्डौ जाने र बाँकी रहेका गाउँहरुमा केही समयपछि फर्किएर विजयोत्सव गर्ने अध्यक्ष यादवले बताए । १५ वटा गाविस रहेको उक्त क्षेत्रका अधिकांश गाविसमा अध्यक्ष रायले घुम्न बाँकी रहेको कार्यकर्ताहरुले बताएका छन् । अध्यक्ष यादवले मलंगवा नगरपालिका, गम्हरिया, ब्रम्हपुरी, भेल्ही लगायत केही गाविसमा मात्र विजयी भएपछि घुम्न भ्याएका छन् ।
१२ वटा गाविस रहेको क्षेत्र नं. १ मा विजयी एमाओवादीका उम्मेद्वार श्रेष्ठले अझै लालबन्दी, पथ्थरकोट, कालिञ्जोर लगायत गाविसका केही भागहरु घुम्न बाँकी रहेको बताए । ‘‘निरन्तर घुमिरहेको छु, अझै केही गाउँहरु बाँकी छ ।’’ उनले भने–‘‘चाँडै सकेर काठमाण्डौतर्फ जान हतारो छ ।’’
१४ वटा गाविस रहेको क्षेत्र नं. २ मा विजयी नेपाली कांग्रेसका रामचन्द्र चौधरीले अझै कविलासी, किशनपुर, हरिपुर, नेत्रगंज लगायत गाविसमा घुम्न बाँकी रहेको बताए । शनिबार हेमपुरमा घरदैलो गरिरहेका चौधरी दुई दिनभित्र सकेर काठमाण्डौ जाने तयारीमा छन् ।
त्यस्तै १३ वटा गाविस रहेको क्षेत्र नं. ३ मा विजयी नेकपा एमालेका हरि उप्रेतीले शंकरपुर, मूर्तिया, कर्मैया लगायत गाविस अन्तर्गत केही गाउँहरुमा घरदैलो गर्न बाँकी रहेको एमालेले जनाएको छ । २२ वटा गाविस रहेको क्षेत्र नं. ५ मा विजयी तमलोपाका जंगीलाल रायले सहोडवा र पडरिया गाविसमा घुम्न बाँकी रहेको बताए । ‘‘आजित भईसकियो, के गर्नु नजाउँ भने जितेर वेवास्ता ग¥यो भन्छन् ।’’ उनले भने–‘‘नेता कार्यकर्ताहरुको माग अनुसार गाउँगाउँमा विजायोत्सव गरिरहेको छु, चाँडै सकेर काठमाण्डौतर्फ पनि जानु छ ।’’
नागरिक समाजका अगूवा उग्रकान्त झाले निर्वाचन अघि भोट माग्न जाँदै मतदाताले उम्मेद्वारहरुलाई जित्ने वितिकै गाउँलाई चटक्कै विर्सने गरेको भन्दै आक्रोश व्यक्त गरेकाले जितेका अनुहारहरु गाउँ–गाउँमा घरदैलो गर्न बाध्य भएको बताउँछन् । निर्वाचनताका घरदैलोमा लम्पसार पर्न आउने र जित्ने वितिकै राजधानीतर्फ कुलेलाम ठोक्ने नेताहरुको व्यवहारबाट आजित बनेका मतदाताले यसपटक जितेका अनुहारहरु समेत घरआँगनमा दुवैहात जोडेर आईपुगेको देख्दा राजनैतिक दलका नेता कार्यकर्ताहरुले जनमतको महत्व बल्ल बुझ्न थालेको आभास गरेका छन् ।
No comments:
Post a Comment